१३ मंसिर २०७८ सोमबार

घरेलु कामदारका लागि खाडी मुलुक जाने कामदारको अवस्था पारदर्शी बनाउन सांसदको माग

काठमाडौं । घरेलु श्रमिकका रुपमा खाडी मुलुकमा जाने कामदारहरुको अवस्था पारदर्शी बनाउँदै पासपोर्ट आफ्नो साथमा राख्ने व्यवस्था गर्न सांसदहरुले माग गरेका छन् । खाडी मुलुकमा श्रमिकहरु सधै जोखिममा रहने गरेकाले सांसदहरुले उनीहरुले गर्ने काम र सेवा सुविधा पारदर्शी हुनुपर्ने र आफ्नो पासपोर्ट आफैसँग राख्ने व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।

प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित समितिमा भएको छलफलमा सांसद देवेन्द्र पौडेलले श्रमिकहरुको हरेक अवस्था पारदर्शी हुनुपर्ने बताए । खाडी मुलुहरुमा काम गर्ने श्रमिकहरुको अवस्थाबारे कुटनीतिक नियोग र धेरैका परिवारलाई समेत थाहा नहुने अवस्थाको अन्त्य गर्नुपर्नेमा उनको जोड छ । को कहाँ के गर्दै छ ? कस्तो सेवा सुविधा पाउँदैछ भन्ने पारदर्शी हुनुपर्ने उनले बताए । श्रमिकले आफ्नो देश फर्किन चाहेमा श्रम सम्झौता अनुसारका शर्त पालना गर्दै आफ्नो देश फर्किन पाउनुपर्ने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले कुनै पनि देशमा आफ्ना नागरिक समस्यामा परे उद्धार र सहयोगको जिम्मेवारी त्यहाँको दूतावासले लिने भएकाले जनशक्ति बढाउने कुरामा ध्यान दिन आग्रह गरे । खाडी मुलुकमा घरेलु कामदारहरुको अवस्थाका सम्बन्धमा समितिले गरेको अनुगमन प्रतिवेदनमा सम्बन्धित श्रमिक वा दूतावाससँग पासपोर्ट हुने प्रावधान समेट्न उनको सुझाव छ । घरेलु कामदारका रुपमा जाने कामदारको तालिम र श्रम सम्झौताको मापदण्ड बनाउनुपर्नेमा उनको जोड छ । साथै भिमसेनदास प्रधानले कोरोना संक्रमण पूर्ण रुपमा नियन्त्रणमा नआउँदासम्म घरेलु कामदारका रुपमा महिला श्रमिकलाई नपठाउने निर्णय गर्नुपर्ने बताए ।

त्यस्तै सांसद विन्दा पाण्डेले श्रमिकको टेलिफोन नम्बर दूतावासमा दर्ता गराउनुपर्ने र पासपोर्ट उनीहरुले आफैले राख्नुपर्ने कुरा श्रम सम्झौतामा नै उल्लेख गर्नुपर्ने बताइन् । उनले विदेश पठाउने घरेलु श्रमिकमा मात्रै ध्यान नदिएर स्वदेशमा पनि घरेलु श्रमलाई मर्यादित बनाउन सके लाखौको रोजगारी सृजना हुने बताइन् ।

समितिले प्रतिवेदनमाथिको छलफलमा आएका सुझावहरु अनुसार परिमार्जन गरी सरकारलाई बुझाउने निर्णय गरेको छ । प्रतिवेदन परिमार्जनका लागि लालप्रसाद साँवा, नरबहादुर धामी र सुजाता परिवारलाई जिम्मेवारी दिइएको समिति सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी दिए ।

प्रकाशित: ११ असोज २०७७ १७:११ आइतबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी