1
1
1
1
1
0
Shares

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ मतबाट पारित

1
1
1
1
1
1
1
1

बुटवल । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ । मंगलबार दिउँसो प्रदेशको नाम लुम्बिनी राख्न गरिएको मतदानमा प्रदेश सरकारको प्रस्ताव दुई तिहाइ मतले पारित भएको हो । प्रदेशको नाम लुम्बिनी राख्ने पक्षमा ७९ जनाले मतदान गरेका थिए भने लुम्बिनी राख्न नहुने पक्षमा ४ जनाले मतदान गरेका थिए । विपक्षमा मतदान गर्नेहरुमा सांसद सहसराम यादव, सुमन रायमाझी, पुर्मती ढेगा र विजयबहादुर यादव रहेका छन् । विक्षमा मतदान गर्ने चारै जना सांसद जनता समाजवादी पार्टी (जसपा) का रहेका छन् । प्रदेश सभामा कूल ८७ सदस्य रहेका छन् । जसमध्ये ८३ जना सांसदले मतदान गरेका थिए ।

त्यस्तै प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रदेश सरकारको प्रस्ताव दुई तिहाइ मतले पारित भएको छ । कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो । दाङमा राजधानी बनाउने पक्षमा ६९ जना सांसदले मतदान गरेका थिए भने १३ जनाले दाङमा राजधानी बनाउने प्रदेश सरकारको प्रस्तावको विपक्षमा मतदान गरेका थिए । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावका पक्षमा प्रतिपक्ष दल नेपाली कांग्रेसका ५ जना सांसदले मतदान गरेका छन् । जसमध्ये मोहम्मद याकुव अन्सारी, भुवनेश्वर चौधरी, शंकर गिरी, अर्जुन श्रेष्ठ र डिल्ली चौधरी रहेका छन् । प्रदेश सभामा कांग्रेसका १९ सांसद छन् । जसमध्ये १३ जनाले दाङ राजधानी राख्ने विपक्षमा मतदान गरेका छन् । गत शुक्रबार प्रदेश नम्बर ५ सरकारले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव पेश गरेको थियो ।

त्यस्तैगरी आज राति १२ बजेदेखि लागु हुनेगरी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले चालु अधिवेशन अन्त्य भएको जानकारी दिएका हुन् । प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन अन्त्य गर्न आएको पत्र सभामुख घर्तीले पढेर सुनाएका थिए । उक्त पत्रमा लेखिएको छ–‘नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम वि.सं २०७७ असोज २० मंगलबार राति १२ बजेदेखि प्रदेश सभाको चालु छैठौं अधिवेशनको अन्त्य गरेको छु ।’

प्रकाशित: २० असोज २०७७ १६:०८ मंगलबार

1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी