भारतमा दुई हप्ताका लागि लकडाउन अवधि थप्ने तयारी

भारतमा दुई हप्ताका लागि लकडाउन अवधि थप्ने तयारी


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको सङ्क्रमण भारतका विभिन्न राज्यमा फैलिने क्रममा कमी नआएपछि दुई हप्ताका लागि बन्दाबन्दीको अवधि थप्ने तयारीमा रहेको भारतीय अधिकारीहरूले बताएका छन् । प्रधानमन्त्रीले राज्य सरकारका मन्त्रीहरूसँग भिडियो सम्मेलनमार्फत शनिबार वार्ता गरेपछि ती राज्यका मुख्यमन्त्रीहरूले लकडाउन अवधि थप गर्नुपर्ने राय दिएका बताइएको छ ।

सम्मेलनमा प्रधानमन्त्रीले लकडाउन बढाउनु पर्ने वा नपर्ने भन्नेबारेमा कुराकानी गरेको बताइएको छ । सरकारले तत्काल घोषणा नगरेको तर अधिकारीहरूले प्रधानमन्त्री मोदीले आइतवारसम्म नयाँ घोषणा गर्नसक्ने बताएका छन् ।

प्रधानमन्त्री मोदीले लकडाउन गर्ने ‘सही निर्णय’ लिएका कारण भारतमा अन्य विकसित मुलुकको तुलनामा सङ्क्रमण फैलिने क्रम निकै न्यून रहेको र यसलाई व्यवस्थापनका लागि समय मिलेको एक अधिकारीले बताए ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्रीसँगको कुरापछि ट्वीटरमा भनेका छन्, “प्रधानमन्त्रीले बन्दाबन्दी थप गर्ने सम्बन्धमा हामीसँग परामर्श गर्नुभएको छ । आज धेरै विकसित देशहरू भन्दा भारतको अवस्था राम्रो छ किनकि हामीले बन्दाबन्दीको घोषणा समयमै गरेका थियौँ । यदि यो अहिले रोकियो भने अहिलेसम्म हासिल गरेका सबै उपलब्धि प्रभावहीन हुनेछन् ।”

भारतले तीन हप्ताका लागि गरेको लकडाउनको अवधि आगामी मङ्गलबार सकिनेछ । तर कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु सङ्ख्या बढ्दो क्रममा देखिएपछि भारतका २९ राज्य र क्षेत्रका धेरै मुख्यमन्त्रीहरूले सम्पूर्ण एक अर्ब ३० करोड जनसङ्ख्याका लागि थप केही हप्ता घरभित्र नै रहने निर्देशन ‘लकडाउन’ गर्न सुझाब दिएका थिए ।

दुई राज्य ओडिशा र पञ्जाबले पहिले नै थप करिब दुई हप्ता बन्दाबन्दी गर्ने तयारी गरेको अधिकारीहरूले बताएका छन् । आलोचकहरूले सङ्क्रमणलाई नियन्त्रणमा राख्न देशव्यापी बन्दाबन्दीको आवश्यक भएको बताएका छन् ।

भारतमा अहिलेसम्म करीव सात हजार ५०० व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र २४० जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । सरकारले कुनै पनि समुदायमा महामारीका रूपमा सङ्क्रमण नफैलिएको बताएको छ ।रासस

Logo