केएमसीका विद्यार्थीले पाए अमेरिकाको महत्वपूर्ण छात्रवृत्ति

केएमसीका विद्यार्थीले पाए अमेरिकाको महत्वपूर्ण छात्रवृत्ति


अमेरिकाको महत्वपूर्ण छात्रवृत्तिका रूपमा लिइने ‘ब्राउन फेलोशिप’ नेपाली विद्यार्थीले पनि पाएका छन् । विश्वभरका विद्यार्थीहरूमध्ये १० जनाले मात्रै प्राप्त गर्ने यो छात्रवृत्ति केएमसी कलेज, बागबजारका विद्यार्थी श्रीयन्स रौनियारले पाउन सफल भएका हुन् ।

धेरै कमले मात्रै पाउने छात्रवृत्ति पाउन सफल रौनियारले निकै खुशी लागेको प्रतिक्रिया दिए । उनले आफू अमेरिकाको उत्कृष्ट कलेज मानिने प्रिन्सटन युनिभर्सिटीमा भर्ना भएको पनि जानकारी दिए । उनका अनुसार यो छात्रवृत्ति पाउने उनी पहिलो नेपाली हुन् ।

जेम्वर ग्राहम ब्राउन फाउन्डेशनले वितरण गर्दै आएको यो छात्रवृत्ति ४ वर्षका लागि प्रदान गरिन्छ । यो पूर्ण छात्रवृति हो । यस अन्तर्गत ट्युसन, रुम बोर्ड, पुस्तक र सबै एशोसिएटेड शुल्कहरू पर्दछन् । यस कार्यक्रम अन्तर्गत गृष्मकालिन ४ वटा अवसरहरु प्रदान गरिन्छ जसमा एउटा अन्तर्राष्ट्रिय यात्रा र दुई वटा गृष्मकालिन सम्बन्धी परियोजनाहरु छन् । जुन विश्वको कुनैपनि ठाउँमा गर्न सकिन्छ ।

यो छात्रवृत्तिका लागि विश्वभर आवेदन आव्हान गरिन्छ । तीमध्ये ३० जनाको नाम छनौट गरिन्छ । आवश्यक प्रक्रिया पूरा गरेर अन्तर्वार्तामा सफल भएका १० जनालाई यो छात्रवृत्ति प्रदान गरिन्छ ।

अमेरिकाको महत्वपूर्ण छात्रवृत्ति पाउन सफल रौनियार काठमाडौंको बागबजारस्थित केएमसी कलेजबाट कक्षा १२ उत्तिर्ण गरेका विद्यार्थी हुन् । आप्mनो विद्यार्थीले ब्राउन फेलोशिप पाउनु ठूलो गौरवको कुरा भएको कलेजका प्राचार्य डा. नगेन्द्र अर्यालले बताए । “यहाँ पढेका विद्यार्थीले उक्त छात्रवृत्ति पाउनुका साथै विश्वकै उत्कृष्टमध्येको एक प्रिन्सटन युनिभर्सिटीमा भर्ना हुन सफल भएको सुन्न पाउँदा निकै गर्व लागेको छ ।” उनले भने । रौनियारको यो सफलताले विश्वस्तरिय शैक्षिक प्रतिस्पर्धामा सफलता प्राप्त गर्न सक्ने उत्कृष्ट विद्यार्थीहरु उत्पादन गर्न केएमसी सक्षम छ भन्ने प्रमाणित गरेको पनि उनले बताए । “श्रीयन्सलाई विद्यालयको तर्फबाट हार्दिक बधाइ तथा उज्वल भविष्यको कामना गर्छाैं ।” अर्यालले भने ।

केएमसीले विज्ञान, व्यवस्थापन, मानविकी र कानुन विषयमा अध्ययन–अध्यापन गराउँदै आएको छ । आफ्नो  २० वर्षे यात्रामा थुप्रै उत्कृष्ट विद्यार्थीहरु उत्पादन गरिसकेको कलेजको दावी छ ।

केएमसीलाई २०७४ सालमा सर्वोत्कृष्ट नतिजा ल्याए बापत सरकारले निजीतर्फको उत्कृष्ट उच्च मावि घोषणा गरेको थियो । चिकित्सा क्षेत्रका विभिन्न अध्ययन संस्थानहरुमा एमबिबिएस अध्ययनकालागि नाम निकाल्ने धेरैजसो टपरहरु केएमसीकै उत्पादनहरु हुने गर्छन् । इन्जिनियरिङ, सिए लगायतमा पनि केएमसीकै विद्यार्थीहरुले बाजी मार्दै आएका छन् ।

Logo