तेल उत्पादक देशहरुले उत्पादनमा २० प्रतिशत कटौती गर्दै

तेल उत्पादक देशहरुले उत्पादनमा २० प्रतिशत कटौती गर्दै


काठमाडौं ।

कोरोना भाइरस (कोभिड-१९) को संक्रमण विश्वभरि फैलिएको र यसको नियन्त्रण तथा रोकथामको लागि विश्वव्यापी रुपमा नै लकडाउन भएका कारण तेलको मागमा कमि आएकाले तेल उत्पादक देशहरुले पाँच भागको एक भाग अर्थात् २० प्रतिशतभन्दा बढि तेल उत्पादन कटौती गर्ने सम्झौता गरेका छन् ।

विश्व लकडाउनमा रहेकाले तेलको मागमा कमी तथा तेलको मूल्यमा पनि उच्च गिरावट आएकाले यसको सामना गर्नका लागि तेल उत्पादक राष्ट्रहरुको सङगठन (ओपेक) र यसका सहयोगी राष्ट्रहरु तेलको उत्पादन कटौती गर्न सहमत भएका हुन् । तेलको माग तथा मूल्य बढाउनको लागि भएपनि ओपेक र यसका सहयोगी राष्ट्रहरुको समूहले मे र जुन दुई महिनामा तेल उत्पादनमा एक करोड ब्यारेल कटौती गर्न सहमत भएका छन् ।

यसरी अहिले उत्पादनमा कटौती गरि सन् २०२२ अप्रिलसम्ममा फेरि विस्तारै कम गर्ने योजनामा रहेको बताइएको छ। बिहिबार ओपेक, रुससहितका तेल उत्पादक र सहयोगी देशहरुबीच तेल उत्पादनमा कटौती गर्ने विषयमा भिडियोवार्ता भएको थियो । एक महिनाभन्दा अघिदेखि हुने भनिएको वार्ता पछिल्लो समय रुस र साउदी अरेबियाका बीचको असहमतिका कारण हुन सकेको थिएन ।

उत्पादक समूहले भिडियोवार्ता मार्फत विश्वमा आपूर्तिको १० प्रतिशत अर्थात् प्रतिदिन एक करोड ब्यारेल तेल उत्पादनमा कटौती गर्ने सम्झौता गरेका हुन् । यी बाहेक उनीहरुले अरु उत्पादक देशहरुद्वारा पनि ५० लाख ब्यारेल तेल उत्पादन कटौतीको अपेक्षा गरेका छन् ।

विश्व बजारमा नै तेलको माग कमि भएकाले दुई साता अघि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य १८ वर्षकै न्यून विन्दुमा झरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा मार्च महिनाको अन्त्यसम्ममा अर्थात् तीन महिनाको अवधिमा तेलको मूल्यमा झण्डै ६० प्रतिशतभन्दा बढीले कमी आएको छ । यो तेलको मूल्य १८ वर्ष यताकै कम मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा अप्रशोधित तेल (ब्रेन्ट क्रुड) को माग घट्न थालेपछि मूल्य झरेको बीबीसीले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा गत सोमबार २२.५८ अमेरिकी डलर प्रतिब्यारेलमा तेलको मूल्य झरेको थियो । यो सन् २००२ यताकै सबैभन्दा कम मूल्य हो । सन् २००२ मा यस्तो तेलको मूल्य प्रतिब्यारेल २० डलरसम्म झरेको थियो ।

Logo