कोरोना संक्रमणबाट बेलायतमा थप तीन नेपालीको मृत्यु, मृतकको संख्या ५ पुग्यो

कोरोना संक्रमणबाट बेलायतमा थप तीन नेपालीको मृत्यु, मृतकको संख्या ५ पुग्यो


लण्डन।

कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप तीन नेपालीको मृत्यु भएको छ। उनीहरुमध्ये दुई जनाको बुधबार र अर्का एकको मंगलबार मृत्यु भएको हो।

लण्डनको ह्यारोमा बस्दै आएका ५९ वर्षीय पूर्व गोर्खा चेतप्रसाद गुरुङको मंगलबार लण्डनस्थित नर्थविकपार्क अस्पतालमा निधन भएको हो। पारिवारिक स्रोतका अनुसार रुघाखोकी, ज्वरो लगायतका लक्षण देखिएर केहि दिन घरमै आइसोलेसनमा बसेका उनी १ साता अघि अस्पताल भर्ना भएका थिए। मधुमेहका रोगीसमेत रहेका उनको स्वास्थ्य अवस्था नाजुक बनेपछि सोमबारदेखि भेन्टिलेटरमा राखिएको थियो।

पर्वत पैंयू स्थायी घर भएका गुरुङ सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका थिए। मंगलबार गुरुङको निधन भएकै नर्थविक अस्पतालमा बुधबार अर्का एक नेपालीको पनि निधन भएको छ। नातीको बिहेका लागि केहि महिना अघि बेलायत आएका अन्दाजी ७७ वर्षका मृतक कोरोना महामारीकै कारण नेपाल फर्किन नपाएर लण्डनमै रोकिएका थिए। उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि भएपनि परिवारले विवरण गोप्य राख्न चाहेको उनका आफन्तले बताएका छन्। नेपालबाटै सँगै आएकी मृतककी पत्नीसमेत अहिले लण्डनमै छिन्।

बुधबार नै बेलायतको नटिङहममा बस्दै आएका ५८ वर्षीय पूर्व गोर्खा शिव श्रेष्ठको पनि निधन भएको छ। करिब १ साता अघिदेखि आइसोलेसनमा बस्दै आएका श्रेष्ठ श्वासप्रश्वासमा समस्या भएपछि बुधबार बिहान मात्रै अस्पताल भर्ना भएका थिए। बुधबार दिउँसो अस्पतालमै मृत्यु भएका उनलाई ह्दयघातकोसमेत आशंका गरिएको छ। सोलुखुम्बु घर भएका श्रेष्ठका श्रीमती र दुई छोरासहित बेलायतमा बस्दै आएका थिए।

बेलायतमा कोरोनाबाट ज्यान गुमाउने नेपालीहरुको संख्या ५ पुगेको छ। यसअघि ६६ वर्षीय पूर्व गोर्खा लिलाबहादुर राई र ४० वर्षीय प्रशान्त अर्यालको पनि दुई साताअघि लण्डनमै कोरोनाकै कारण मृत्यु भएको छ। अन्नपूर्णबाट

Logo