सीमामा सेना परिचालन नगरे नखाएको विष लाग्ला !

सीमामा सेना परिचालन नगरे नखाएको विष लाग्ला !


  • विनोद श्रेष्ठ-

विश्वमा कोरोना भाइरस अर्थात कोभिड १९ सङ्क्रमितको संख्या बढ्दो छ। विश्व स्वास्थ्य संगठनका अनुसार यो लेख तयार पार्दासम्म विश्वमा ६ लाख ६३ हजार ९२८ जना संक्रमित भएका छन् भने ३० हजार ८८० जनाको मृत्यु भइसकेको छ ।

विश्व स्वास्थ संगठनको रिपोर्ट अनुसार विश्वको सम्पन्न देश अमेरिकामा सबैभन्दा बढी १ एक लाख २३ हजार ७५० जना संक्रमित भएका छन् भने २ हजार २२७ जनाको मृत्यु भैसकेको छ । विश्वमा कोरोनाबाट अछुतो सायदै कुनै देश नरहेको भए पनि सबैभन्दा बढी क्षति युरोपियन देश इटालीले ब्योहोरेको छ । हालसम्म इटालीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार २३ पुगेको छ ।

कोभिड १९ को असर हाम्रो देशमा पनि नपरेको होइन तर तुलनात्मक हिसाबमा नेपालमा भन्दा छिमेकी देश भारतमा प्रत्यक्ष परेको देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हाल सम्म ९८७ जना सङ्क्रमित भएका छन् । जसमध्ये २४ जनाको मृत्यु भैसकेको छ।

जसले गर्दा भारतीय सरकार सचेत भएपनि भारतीय जनता खासै सचेत भएका छैनन्।  भारतीय सरकारले गरेको लकडाउन अवज्ञा अनि प्रहरीले कुटपिट गरेको भिडियो फुटेज र फोटोहरु सामाजिक संजालमा छरपस्ट बाहिरिएका छन् भने गाउले नै मिलेर प्रहरीको टोलि नै लखेटेको भिडियो पनि बाहिरिएको छ ।

जसले भारतीय जनताको चेतनाको स्तर छर्लंग पारेको छ । तिनै भारतीय जनताको लापरबाहीले भारतमा मात्र नभई हाम्रो देश नेपालमा समेत ठूलो असर पर्ने निश्चितै छ।  जसको प्रमुख कारण हो ‘नेपाल – भारत खुल्ला सिमाना’ । हाललाई नेपाल भारत प्रमुख नाकाहरु बन्द भएको भए पनि खुला सिमानाका कारण भित्रि तथा जंगलको बाटोबाट आउनेहरु प्रसस्तै सम्भावना रहेको छ ।

त्यसैले नेपाल सरकारले खुला सिमाना बन्द गर्न अनि सिमानामा नेपाली सेना परिचालन गर्न ढिलाई गरे त्यसको मूल्य चुकाउन नेपाल अनि हामी  नेपाली जनता बाध्य हुनेछौं।  यदि हामी सचेत रहंदा रहँदै पनि मूल्य चुकाउनु परे नखाएको विष लागे सरह हुनेछ।

त्यसैले हाम्रो नेपाल अनि नेपाली जनताको भलाइको लागि हाम्रो सरकारले कोरोनाको कहर शान्त नभएसम्मको लागि मात्र भएपनि निर्वाध रुपमा हुने आवतजावत अर्थात खुला सिमाना तुरन्तै बन्द गर्न अत्यन्तै जरुरी देखिन्छ । किनकी हामी अधिकांस नेपाली हाम्रो सरकारले चालेको कदमलाई साथ दिदै नमिठो खाँदै भएपनि लकडाउन पालना गरि घर भित्रै बसेका छौं ।

आशा छ कि हाम्रो सरकारले छिटै खुल्ला सिमाना बन्द गर्नेछ अनि हामीलाई नखाएको विष लाग्नबाट बचाउनेछ।

 जय पशुपतिनाथ

Logo