१३ मंसिर २०७८ सोमबार

'नेकपाको द्वन्द्वमा कांग्रेस फस्दैन' : कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तालाई लिएर विभिन्न अड्कलबाजी भइरहेको छ । यसै क्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाको द्वन्द्वमा कांग्रेस नफस्ने स्पस्ट पारेका छन् । कांग्रेसलाई नागरिकले पाँच वर्ष विपक्षमा बस्ने जनादेश दिएकाले कुनै पनि भड्कावबाट टाढा रहेको उनको भनाइ छ ।

सामाजिक संजाल ट्वीटरमा उनले लेखेका छन् : भ्रम, कोही कसैलाई केही छ भने , ५ वर्ष विपक्षमा बस्ने प्रष्ट जनादेश छ कांग्रेसलाई । अत: कुनै पनि भड्कावबाट टाढा छौं, रहनेछौँ । नेकपाको द्वन्द्वसँग विलकुल निरपेक्ष छौं । अत: यता या उताको जोड घटाउमा कांग्रेसको शिर गन्ने धृष्टता कोहीबाट नहोस्, सजग गराउँदछौं । जय नेपाल ।

यस्तै कांग्रेसका अर्का नेता पूर्वमन्त्री अर्जुननरसिंह केसीले पनि प्रधानमन्त्री केपी ओलीसँग सत्तासाझेदारी गर्नु कांग्रेसका निम्ति आत्महत्या हुने बताएका छन् ।

केसीले आइतबार सामाजिक संजाल ट्वीटरमा ट्विट गर्दै भनेका छन् , प्रम ओलीले नेकासँग संयुक्त सरकारको प्रस्ताव राखेको हल्ला छ । स्थिरता, समृद्धि र स्वर्ग लाने भ्रम छरेर आएको, भ्रष्टाचारमा चुर्लुम्म डुबेकासँग, फोहोरको भारी बोक्न यसमा संलग्न हुनु वा सत्तामा जाने हतार गर्नु नेकाको निम्ति आत्महत्या हुनेछ । उनीहरू टुटुन्, फुटुन् वा जुटुन् यो उनकै समस्या हो ।

शनिबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भएको भेटघाटमा ओलीले कांग्रेससँग सत्तासाझेदारीको प्रस्ताव राखेपछि प्रवक्ता शर्मा र नेता केसीको यस्तो प्रतिक्रिया आएको हो ।

प्रकाशित: ८ मंसिर २०७७ ०७:२४ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी