राजनीति प्रदेश ३

'कार्यकारी अध्यक्ष दाहालको प्रस्ताव अराजनीतिक हो'–प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा (भिडियाे)

15 Shares

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद यतिबेला छताछुल्ल भएको छ । गत मंसिर २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एकलौटी रुपमा राजनीतिक प्रस्ताव पेश गरेका थिए । जसलाई सचिवालयका बहुमत (पाँच जना) सदस्यहरु राजनीतिक प्रस्ताव भन्दै आएका छन् । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार, नेकपा प्रचार विभाग उपप्रमुख एवं केन्द्रीय सदस्य सूर्य थापा उक्त प्रस्ताव अराजनीतिक भएको दाबी गर्छन् । उनले भने–‘राजनीतिक प्रस्ताव र प्रतिवेदन हुन पार्टीको विधान, प्रकृया, पद्धति, वैधानिक व्यवस्था, पछिल्ला निर्णयहरु, एकताका निर्णय र सम्झौताहरुले वैधानिक ढोका निर्धारण गरेका हुन्छन । ती सबैको उल्लंघन गरेर उहाँले व्यक्तिगत रुपमा आफ्नो निबन्ध जस्तो धूरीबाट पसेर बलजफ्ती रुपमा प्रस्ताव पेश गर्नु भएको छ । त्यसैले यो अराजनीतिक प्रस्ताव हो ।’

पूर्व माओवादी समूहमा यस्तो अभ्यास हुने भए पनि अहिलेको बलियो नेकपामा यस्ताे कार्य गर्न नपाइने उनको चेतावनी छ । विश्वको कम्युनिष्ट इतिहासमा आफ्नै अध्यक्षलाई यो ढंगको गालीगलौज, तथ्यहिन आरोप र लाञ्छना लगाइएको पहिलो पटक भएको उनको जिकिर छ ।

त्यस्तै नेकपाको विधानमा संक्रमणकालीन अवस्थामा बहुमत र अल्पमतको निर्णय नहुने उनको भनाइ छ । ‘संक्रमणकालीन अवधिमा बहुमत अल्पमतको निर्णय हुँदैन । जनवादी केन्द्रीयताको सिद्धान्त अहिले स्थगित छ’– थापाले भने–‘जसमा व्यक्ति कमिटीको मातहत, तल्लो कमिटी माथिल्लो कमिटीको मातहत, सबै कमिटी केन्द्रीय कमिटीको मातहत, केन्द्रीय कमिटी महाधिवेशनको मातहत, सिंगो पार्टी महाधिवेशनको मातहत चल्छ ।’ नेकपाको एकतालाई सही ढंगले बुझ्नु पर्नेमा उनको जोड छ । महाधिवेशनपछि एकल अध्यक्षता भएपछि मात्र बहुमतको निर्णय पार्टीको निर्णय हुने उनले बताए । पूर्व एमाले र माओवादी केन्द्रसँगको एकता स्ट्रेन्थको हिसाबले नभएर सेन्टिमेन्टको हिसाबले भएको भन्दै उनले अहिलेसम्मका निर्णयहरु ५५/४५ को अनुपातमा गरिएको बताए । पार्टी एकतापछि गरिएको नेतृत्व भागबण्डा (केन्द्रीय कमिटी वा स्थायी कमिटी) मा गरिएको निर्णय बहुमतको निर्णय नभइ सहमतिको निर्णय भएको उनले बताए ।

त्यस्तैगरी मंसिर १३ गते बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष दाहालले प्रस्तुत गरेको अराजनीतिक प्रतिवेदनमा उल्लेख गरिएका तथ्यहिन, आधारहिन, लाञ्छनायुक्त र तेजोवध गर्न ल्याइएका नियोजित प्रश्नहरुको जवाफ दिने भएपनि त्यो राजनीतिक प्रस्ताव नहुने उनले जानकारी दिए । साथै कार्यकारी अध्यक्ष दाहाललाई गुटगत भेला गर्ने अनुमति नभएको सल्लाहकार थापाको भनाइ छ । उनले भने–‘कार्यकारी अध्यक्ष दाहालले बाच्छाबाच्छी टोल, खुमलटार, पेरिसडाँडा र धुम्बाराहीमा गुटगत भेला गराउनु भयो । उहाँलाई कार्यकारीको हैसियतले यस्ता बैठक गर्दै हिड्ने, समिकरणको गोलचक्करमा रमाउँदै हिड्ने अनुमति छैन ।’

प्रकाशित: ९ मंसिर २०७७ १३:४८ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी