राजनीति प्रदेश ३

'कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी देखियो' : सभामुख सापकोटा

15 Shares

काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताएका छन् । जनमुखी विधेयकहरु निर्माण गर्नका लागि राजनीतिक दल तथा सांसदहरुलाई प्रशिक्षण नहुँदा विज्ञको भर पर्नु परेको बताए ।

शुक्रबार काठमाडौंमा आयोजित संघीय संसद र प्रदेशसभा सञ्चालनका लागि अनुभव आदानप्रदान एवं अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्तो धारणा राखेका हुन् । सभामुख सापकोटाले राजनीतिक दलहरु भित्र पनि लोकतन्त्रको राम्रो अभ्यास नभएको अनुभव भएको बताए । त्यसैले पार्टीहरुले सांसदहरुलाई राम्रो प्रशिक्षणमा जोड दिनु पर्ने बताए ।

अहिलेको परिस्थितिमा संघीयताको औचित्य पुष्टि गर्ने दायित्व आफूहरुमाथि रहेको समेत सभामुख सापकोटाले बताए। पछिल्लो समय जनतामा पनि संघीयता आवश्यक रहेको छ भन्ने परेको उल्लेख गर्दै सभामुख सापकोटाले संघीयतालाई जीवन्त बनाउने दायित्व पनि सांसदहरुकै भएको बताए । यस्तै वैज्ञानिक वस्तुवादी र जनताका इच्छा, आकांक्षा र भावना समेटेर कानून निर्माण गर्न सकेमा मात्रै सफलता सुनिश्चित हुने बताए।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघबाट बन्नु पर्ने कतिपय ऐन कानूनहरु नबन्दा प्रदेश सरकार र स्थानीय तहलाई काम गर्न अप्ठेरो परेको बताए । सबै कुराको वातावरण बने पनि ऐनकै कारण काम नहुने स्थिति देखा परेको उनको भनाई छ । त्यसैले अबको हिउँदे अधिवेशनमा त्यस्ता सबै ऐन कानूनहरु निर्माण गरी संघीय संरचनाका सबै निकायहरुलाई काम गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताए ।

कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला आएको बताइन् । उनले कति गते बोलाउने भन्ने टुंगो नलागे पनि नियमित अधिवेशन सुरु हुने बताइन् । अधिवेशन बोलाउने सन्दर्भमा प्रतिनिधि सभाका सभामुख सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग पनि छलफल भइरहेको बताइन् ।

कार्यक्रममा मन्त्री तुम्बाहाङ्फेले विकासलाई आत्मसाथ गर्दै जानु पर्ने बेला आएको पनि बताइन् । परिवर्तन, विकास र चेतनालाई व्यवहारमा लागू गर्नुपर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने बेला आएको उनको भनाई छ।

प्रकाशित: १२ मंसिर २०७७ १४:०२ शुक्रबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी