राजनीति प्रदेश ३

सर्वदलीय बैठक : सच्चिएर अघि बढ्न सरकारलाई कांग्रेसको सुझाव

15 Shares

काठमाडौं ।

आजको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। बैठकमा कांग्रेसले देशमा सरकारकै कारण भ्रष्टाचार बढेको, कोरोना संक्रमण नियन्त्रणमा सरकार असफल भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको हो ।

सरकारकै कारण नागरिकमा निराशा पैदा भएकाले अहिले राजतन्त्रको पक्षमा प्रर्दशन हुन थालेको बताउँदै कांग्रेसले सरकार नसच्चिए अझ जटिल परिस्थिती आउन सक्नेतर्फ सचेत गराएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा प्रतिनिधित्व गरेका दलहरुको बैठक बोलाएका थिए । बैठक बालुवाटारमा करिव ३ घण्टा बसेको थियो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान गरेका छन् । सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले नेताहरुलाई स्वागत गर्दै पछिल्ला दिनमा प्रतिगमनका नाममा भएका संविधानविरोधी र हिंसात्मक गतिविधि सह्य नहुने स्पष्ट गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्रीले कोभिड–१९ को रोकथाम र नियन्त्रणमा सरकारले गर्दै आएका कामबारे पनि प्रकाश पारेका थिए । बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका प्रमुख र प्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित: २३ मंसिर २०७७ १५:४० मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी