धुलिखेल र शिर मेमोरियल अस्पतालमा आइसोलेशन कक्ष

धुलिखेल र शिर मेमोरियल अस्पतालमा आइसोलेशन कक्ष


काभ्रे ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को उच्च जोखिमको कारण पूर्वतयारी र सतर्कताका साथ जिल्लाका धुलिखेल अस्पताल र शिर मेमोरियल अस्पतालमा आइसोलेशन कक्ष पूर्ण तयारी अवस्थामा राखिएको छ । भाइरसबाट प्रभावित भई आकस्मिक रुपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन आइसोलेशन कक्ष तयार गरिएको हो ।

बनेपास्थित शिर मेमोरियल अस्पतालले आइसोलेशन कक्षमा पाँच वटा शैयासहित आवश्यक व्यवस्थापन गरेको जनाएको छ । अस्पतालका आकस्मिक कक्षका प्राविधिक आनन्दप्रसाद दाहालले आइसोलेशन गर्नको लागि पाँच शैया तयारी अवस्थामा राखेको बताए।

आइतवारदेखि अस्पताल आउनेको बाहिरी प्रवेशद्वारमा नै ज्वरो नाप्ने काम गरेर मात्रै भित्र प्रवेश गर्ने व्यवस्था गर्दै आएको अस्पतालले जनाएको छ । ज्वरो आएका बिरामीलाई छुट्टै निगरानी कक्षमा राखेर आवश्यक सोधपुछसहित सल्लाह सुझाव दिने गरिएकोे छ । घाँटीको र र्‍याल जाँच्नको लागि अस्पतालमा उपकरण नभएकाले त्यस्ता बिरामीका लागि टेकुमा पठाउने गरेको अस्पतालले जनाएको छ ।

शङ्का लागेर आफैं जाँच्न आउनेलाई के कस्तो लक्षणहरु छन् र कस्तो अवस्थामा छ भन्ने कुराको सोधपुछपछि घरमा नै छुट्टै क्यारेन्टाइनमा बस्न र त्यसरी बसेकालाई के कस्तो छ भनेर अस्पतालको हटलाइनबाट नै फोन गरेर बुझ्ने काम भइरहेको बताइएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख नरेन्द्रकुमार झाका अनुसार जिल्लाको धुलिखेल अस्पतालमा छ शैयाको आइसोलेशन कक्ष तयारी अवस्थामा रहेको र नमोबुद्धको नौबिसेमा रहेको मेथिनकोट अस्पतालमा र पाँचखाल नगरपालिकको दुलाल थोकमा रहेको पाँचखाल प्राथमिक उपचार केन्द्रमा पाँच/पाँच शैयाको आइसोलेशन कक्ष स्थापना गर्ने तयारीमा रहेको छ ।

सेनाले निर्माण गरे क्वारेन्टाइन स्थल

धुलिखेलमा रहेको विष्णु दल गणका नेपाली सेनाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइन निर्माण गरेको छ । गणका गणपति सुवास खड्काका अनुसार नमूनाको रुपमा १०० वटा खाट तयार गरेको र जिल्ला विपत् व्यवस्थापन समितिले उपलब्ध गराएको टेण्ड र अन्य सामग्रीहरु जुटाएर क्वारेन्टाइन निर्माण गरेको हो । आपतकालीन अवस्था आइपरेको खण्डमा १०० जनाको लागि व्यवस्थापन गर्न सकिने प्रमुख खड्काले बताए ।रासस

Logo