राजनीति प्रदेश ३

सर्वदलीय बैठकको निष्कर्ष, 'संसद विघटन संविधानमाथिको आक्रमण'

15 Shares

काठमाडौं ।

नेपाली कांग्रेसको आह्वानमा बसेको सर्वदलीय बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निष्कर्ष निकालेको छ ।

कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको बैठकले संसद विघटन संविधान विपरित भएको भन्दै संविधान माथिको आक्रमण भएको निष्कर्ष निकलेको हो । बैठकपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले आइतबार प्रतिनिधिसभा विघटनको घोषणालाई संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको निष्कर्ष बैठकले निकालेको बताए।

संसद विघटनको निर्णय विरुद्ध तीन वटै पार्टीले एकतावद्ध भएर अगाडि बढ्ने समझदारी पनि भएको उनले बताए । मंगलबार तीनवटै दलले केन्द्रीय कमिटी बैठक बोलाएको उल्लेख गर्दै उनले बैठकपछि पुनः बैठक बसी आगामी कार्यक्रम घोषणा गरिने बताए।

कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध तीनवटै पार्टी एकमत भएको निष्कर्ष बैठकले निकालेको बताए। केन्द्रीय कार्यसमिति बैठकपछि आगामी दिनमा सरकारको यो कदम विरुद्ध कसरी अगाडि बढ्ने भन्ने कुरामा सहमति भएको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद विघटनको घोषणा गरेपछि त्यसको चर्को आलोचना भइरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले हिजो संसद विघटनको घोषणा गर्दै नयाँ निर्वाचन मिति तय गरेकी थिइन् ।

प्रकाशित: ६ पुस २०७७ १९:२५ सोमबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी