२० मंसिर २०७८ सोमबार

'कुनै हालतमा पार्टी फुट्नु हुँदैन' : मुख्यमन्त्री भट्ट

सिलगढी ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा फुट्न नहुने बताएका छन् । नेकपाले जिल्ला सदरमुकाम सिलगढीमा आज आयोजना गरेको सभामा मुख्यमन्त्री भट्टले पार्टीमा फुट गरेर कसैलाई पनि फाइदा नहुने भएकाले सबै नेता, कार्यकर्ताले एकजुट भएर पार्टी जोगाउनु पर्नेमा जोड दिए ।

उनले भने, “पार्टी फुटाएर देशको विकास नहुने भएकाले सबै एकजुट हुनु पर्छ ।” मुख्यमन्त्री भट्टले नागरिकको मतको कदर गर्दै उनीहरुको हक हित र विकासका लागि पनि एकजुट भएरै जानुपर्ने धारणा राखे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद पूर्णा जोशीले पार्टी फुटाउने जस्तो गलत निर्णयलाई प्रशय दिनु आफैँमा हानीकारक भएको बताए। उनले भने, “पार्टी फुट भए हामीलाई नै घाटा हो, आफूलाई घाटा हुने काम नगरी पार्टी जोगाएर जानु नै उत्तम हुनेछ ।”

दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले पनि नेपाली जनताले देशको विकासका गर्न बहुमत दिएर जिताएको पार्टी नेकपा फुटाउन विभिन्न देशी विदेशी शक्ति लागिपरेको हुँदा त्यस्ता शक्तिको पछि नलागी एकढिक्का भएर अगाडि बढ्नु पर्ने धारणा राखे । सभामा सम्बोधन गर्ने अधिकांश नेता तथा कार्यकर्ताले नेकपा कुनै पनि हालतमा फुट्नु नहुने बताएका थिए ।

 

प्रकाशित: १४ पुष २०७७ १८:०७ मंगलबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी