२० मंसिर २०७८ सोमबार

सर्वोच्चद्वारा सरकारसँग मन्त्रिपरिषद् विस्तार गर्नुको लिखित कारण माग

काठमाडौं ।

सर्वोच्च अदालतले सरकारसँग मन्त्रिपरिषद् विस्तार गर्नुको कारण माग गरेको छ । सोमबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले मन्त्रिपरिषद् विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ माग गरि एक सातामा अदालतमा हाजिर हुन आदेश जारी गरेको हो ।

संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्री कामचलाउ हैसियतमा पुगेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीसमेतले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट दिएका थिए । उक्त रिटमाथि सर्वोचमा केहि दिनदेखि पेसी चढ्ने र हेर्न नभ्याउने मात्र भएको थियो । तर, सोमबार भने उक्त रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले लिखित जवाफ माग गर्दै पुस २८ गते अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको हो ।

गत पुस ५ गते संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहका ७ नेताहरुले मन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुस १० गते ८ मन्त्री र १ राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद विस्तार गरेका थिए । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले नव–नियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण गराएकी थिइन् । यस विरुद्ध कानुन व्यवसायीले मन्त्रिपरिषद विस्तारको निर्णय बदर गर्न भन्दै सर्वोच्चमा रिट निवेदन दिई अन्तरिम आदेश माग गरेका थिए । तर, सर्वोच्चले भने अन्तरिम आदेशका लागि २८ गते दुबै पक्षलाई छलफलमा बोलाएको हो ।

नेपालको संविधानको धारा ७७ (१) मा प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने व्यवस्था गरिएको र अहिलेका प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन भएपछि त्यसको सदस्यसमेत नरहेका अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने रिट निवेदनमा जिकिर गरिएको छ । यही आधारमा निर्वाचन घोषणा गरेको र प्रतिनिधिसभा सदस्य नभएको अवस्थामा प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने कानुनविदहरुले बताउँदै आएका छन् । तर, प्रधानमन्त्री ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको र पदबाट राजीनामा नदिएकाले विस्तार गर्न मिल्ने जिकिर गर्दै विस्तार गरेका थिए । हालसम्म राष्ट्रपति कार्यालयले पनि काम चलाउ भएको पत्र नदिएको भन्दै प्रधानमन्त्री ओलीले आफूलाई पूर्णकालीन प्रधानमन्त्रीको रुपमा पेश गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो ।

प्रकाशित: २० पुष २०७७ १७:२९ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी