यातायात व्यवस्था विभागको चौथो सूचना : टुटल र पठाओ नरोकिने

यातायात व्यवस्था विभागको चौथो सूचना : टुटल र पठाओ नरोकिने


काठमाडौं ।

टुटल र पठाओ संचालन सम्बन्धि निर्णयबाट यातायात व्यवस्था विभाग पछि हटेको छ । यो निर्णय आफू मातहत नभएको जनाउँदै विभाग टुटल र पठाओ संचालन तथा बन्द गर्ने निर्णय प्रदेश सरकार मातहत रहेको उल्लेख गर्दै पछि हटेको छ । विहिबार एक विज्ञप्ती जारी गर्दै विभागले निजी सवारी साधन भाडामा लगाउन पाइने वा नपाइने भन्ने निर्णय वागमती प्रदेश सरकारले गरिसकेकाले यो आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको विषय भएको उल्लेख गरेको छ ।

विभागद्वारा जारी विज्ञप्तीमा भनिएको छ , ‘वागमती प्रदेश सभाले प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७५ पारित गरि प्रदेश राजपत्रमा समेत सूचना जारी गरिसकेको छ । उक्त ऐनको दफा १३ को उपदफा ४ मा दुईपांग्रे तथा ४ पांग्रे सवारीले तोकिएको मापदण्ड पूरा गरि यात्री विमा गरि तोकिएको भाडा लिएर यात्री ओसार पसार गर्न पाइने छ ।’ यसो भन्दै विभाग सो निर्णयबाट पछि हटेको हो ।

यसरी विभागले गत फागुन २७ गते आफैंले जारी गरेको टुटल र पठाओ संचालन गरे कारबाही गरिने भन्ने निर्णय तत्कालका लागि लागू नहुने देखिन्छ । विभागले बिहीबार जारी गरेको सूचनामा टुटल र पठाओलाई सञ्श्चालन हुन दिने कि नदिने भन्ने विषय विभागको नभएको र त्यसको अधिकार प्रदेश सरकारमा निहित रहेको स्पष्ट पारेको छ ।

यस सम्बन्धमा अखिल नेपाल मजदूर संघ ट्याक्सी विशेष जिल्ला कमीटीले उच्च अदालतमा दायर गरेको मुद्दा समेत विचाराधीन रहेको उल्लेख गरेको छ ।

उच्च अदालत पाटनले यसअघि २०७६ साल माघ २९ गते अहिले सञ्चालनमा रहेको टुटल र पठाओलाई तत्काल रोक लगाउनु नपर्ने परमादेश जारी गरेको थियो । त्यतिबेला आवश्यक कानूनी र नीतिगत व्यवस्था गर्न यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको नाममा परमादेश जारी गरेको भएपनि यातायात व्यवस्था विभागले फागुन २७ गते कारबाही गरिने आसय सहितको सूचना जारी गरेको थियो ।

Logo