राजनीति प्रदेश ३

राष्ट्रियसभा : 'प्रतिपक्षीको आलोचना सहन नसकेर सरकारले हठात अधिवेशन अन्त्य गर्‍यो'

15 Shares

काठमाडौं ।

राष्ट्रियसभाको सातौं अधिवेशन उपलब्धिमुलक हुन सकेन । पुस १७ गते सुरु भएर २६ गते अन्त्य भएको राष्ट्रियसभाको सातौं अधिवेशनमा जम्मा ४ वटा बैठक बसे । यो अधिवेशन अहिले सम्मको संसदीय इतिहासमा सबैभन्दा छोटो अधिवेशनको रुपमा रहेको छ । साथै यो अधिवेशन औचित्यपूर्ण पनि हुन सकेन ।

यो अधिवेशनले बैठक सञ्चालन खर्च मात्रै बढायो । एउटा बैठक सञ्चालनका लागि राष्ट्रियसभा सदस्यको बैठक भत्ता, मर्यादापालकहरुको व्यवस्थापन, सुरक्षा व्यवस्था, स्वास्थ्य सर्तकता लगायत विभिन्न शीर्षकमा गरि झण्डै ८ लाख रुपैंयाँ खर्च हुने संघीय संसद सचिवालयले जनाएको छ । ४ वटा बैठकमा ३२ लाख बढी खर्च भएको देखिन्छ । अधिवेशन सुरु भएर पनि राष्ट्रियसभा अन्तर्गतका समितिले वर्षभरि गरेका कामहरुको प्रतिवेदनमाथि पनि छलफल हुन पाएन । सरकारले संसद नभएका बेला जारी गरेका अध्यादेशहरु बैठकमा पेश भए तर त्यसमाथि छलफल पनि हुन सकेन । अधिवेशनको अन्तिम दिन अध्यक्ष गणेश तिमिल्सनाले प्रस्तुत गरेको अधिवेशनका कामहरुको विवरणमा सरकारले पेश गरेका अध्यादेशको फेहरिस्त बाहेक केही थिएनन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले प्रतिपक्षीको आलोचना सहन नसकेर सरकारले हठात अधिवेशन अन्त्य गरेको आरोप लगाए । संसद नभएका बेला सरकारले जारी गरेका अध्यादेशहरु, विरोधको प्रस्तावहरु लगायत अन्य कयौं मुद्धा हुँदा हुँदै सरकारले लोकतन्त्रको मर्म र महत्वलाई अवमूल्यन गर्दै हठात अधिवेशन अन्त्य गरेको उनको तर्क थियो ।

सत्तारुढ दल नेकपाका तर्फबाट राष्ट्रियसभा सदस्य भएका प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले एक अधिवेशनबाट अर्को अधिवेशनको ग्याप ६ महिनाभन्दा बढी गर्न नहुने संबैधानिक व्यवस्थालाई पालना गर्नु बाहेक अधिवेशनको कुनै औचित्य नभएको टिप्पणी गरे।

अधिवेशनमा संवैधानिक परिषद, काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश ०७७, तेजाब तथा अन्य घातक रासायनिक पद्धार्थ नियमन अध्यादेश ०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश ०७७, सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश ०७७, औषधि तेस्रो संशोधन अध्यादेश ०७७, यौनिक हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश ०७७ र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश ०७७ गरी ७ वटा अध्यादेश सभामा पेश भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशन अवधिभरमा उठेका एवं समसामयिक विषयमा सभामा वक्तव्य दिएका थिए । त्यसैगरी राष्ट्रियसभा अध्यक्षले जारी गरेको राष्ट्रियसभाका समितिहरुको गठन सम्बन्धी आदेश ०७७ सर्वसम्मत् समितिबाट अनुमोदन भएको थियो । त्यसैगरी राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिमा मनोनीत गरिएको थियो भने मधेसी आयोगको वार्षिक प्रतिवेदन २०७६/०७७ र थारु आयोगको वार्षिक प्रतिवेदन ०७६/०७७ सभा समक्ष पेश भएको थियो ।

दिगो विकास तथा सुशासन समितिको दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन ०७६/०७७ र विधायन व्यवस्थापन समितिको विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७६/०७७ सभा समक्ष पेश भएका थिए ।

सातौँ अधिवेशनमा प्रतिनिधिसभा सदस्यहरु सानु शिवा र सुर्यबहादुर केसी, राष्ट्रियसभाका पूर्वसदस्यहरु दिपकबहादुर गुरुङ, इन्द्रहाङ लिम्बु र राममान श्रेष्ठ, संविधान सभा सदस्यहरु भिमप्रसाद गौतम र मानपुर चौधरी, प्रतिनिधिसभाका पूर्वसदस्य ओमकार प्रसाद गौचन र वीरबहादुर लामा र २०६३/०६४ को अन्तरिम व्यवस्थापिका संसदको पूर्वसदस्य कमानसिंह लामाको निधनको शोक प्रस्तावहरु पारित गरिएका थिए ।

प्रकाशित: २८ पुस २०७७ १७:१४ मंगलबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी