1
0
Shares

नेकपा दुवै समूहकाे आ-आफ्नै रणनीति : ओली समूह चुनावमा, दाहाल–नेपाल प्रतिनिधिसभा पुनर्स्थापनामा

1
1
1

काठमाडौं ।

प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू आआफ्नै रणनीति अनुसार अगाडि बढ्ने भएका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूह देशभर आवश्यक माहोल खडा गर्दै निर्वाचनको तयारीमा होमिएको छ भने नेकपाका माधवकुमार नेपाल र पुष्पकमल दाहाल समूह प्रतिनिधिसभा पुनर्स्थापना गराउन पूर्वघोषित आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउने रणनीति बनाउँदै छ । सो समूहले जसरी भए पनि निर्वाचन रोक्ने गरी आवश्यक गृहकार्य अघि बढाउने भएको छ ।

बिहीबार दुवै समूहको छुट्टाछुट्टै बसेको स्थायी कमिटी बैठकले आआफ्नै तयारी अनुसार आफ्ना एजेन्डालाई सफल बनाउने विषयमा छलफल गरेका छन् । ओली समूहले त निर्वाचनलाई निर्धारित समयमा सम्पन्न गर्न आफ्ना सबै कार्यकर्तालाई गाउँगाउँमा परिचालन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहका स्थायी कमिटीको अनौपचारिक बैठकले सरकारले तोकेकै मितिमा निर्वाचन सम्पन्न गर्ने गरी आवश्यक तयारीमा जुट्नुपर्ने निष्कर्ष निकालेको हो । १७ र २७ वैशाखमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा यसअघि नै भइसकेको छ । निर्वाचन आयोगसमेत निर्वाचनको पूर्वतयारीमा जुटिसकेको छ ।

हालसम्म देशैभर भएका प्रदर्शन, भेला, प्रशिक्षण तथा बैठकले पार्टीको पक्षमा सोचेभन्दा बढी जनलहर प्राप्त भएको निष्कर्ष निकाल्दै ओली समूह यस्ता कार्यक्रम निर्वाचनसम्म नै जारी राख्ने निष्कर्षमा पुगेको छ ।

छलफलमा सहभागी नेकपा स्थायी कमिटीका सदस्य एवं संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीद्वारा जारी प्रदर्शन, भेला, प्रशिक्षण तथा बैठकले प्राप्त जनलहरलाई निर्वाचनसम्मै जारी राख्ने निष्कर्ष निकालिएको बताए ।

यसैगरी छलफलमा पार्टी आधिकारिकता सम्बन्धी निर्वाचन आयोगमा भएको प्रगतिको विषयमा समेत समीक्षा भएको छ । ‘प्रधानमन्त्री ओलीले हामीलाई निर्वाचन आयोगमा भएको प्रगति, सर्वोच्चमा रहेको विचाराधीन मुद्दासहित अन्य विषयमा ब्रिफिङ गर्नुभयो र निर्वाचनलाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने निर्देशन दिनुभयो,’ नेम्वाङले भने ।

छलफलमा प्रधानमन्त्री ओलीले आफूहरू नै आधिकारिक नेकपा भएको र सूर्य चिह्न पनि आफूहरूले नै पाउने बताएका थिए । ‘हामी नै आधिकरिक हौं । प्रथम अध्यक्ष र महासचिव हामीसँग छ । विधान अनुसार प्रथम अध्यक्ष र महासचिवविना कसैले बैठक गर्न सक्दैन त्यसैले सूर्य चिह्न र नेकपा हाम्रै हो,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

उता नेकपा दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जारी आन्दोलनलाई अझै सशक्त बनाउने निष्कर्ष निकालेको छ । पेरिसडाँडामा बसेको बैठकपछि नेकपा सचिवालय सदस्य एवं आन्दोलन परिचालन समितिका संयोजक नारायणकाजी श्रेष्ठले बैठकले जारी आन्दोलनलाई थप सशक्त तथा प्रभावकारी बनाउने निष्कर्ष निकालेको बताए ।

‘प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेकाले पुनस्र्थापना हुन्छ,’ श्रेष्ठले भने, ‘अहिले जारी दोस्रो चरणको आन्दोलनलाई थप सशक्त एवं प्रभावकारी बनाउने बैठकको निष्कर्ष छ ।’ दाहाल–नेपाल समूहको स्थायी कमिटी बैठक शुक्रबार दिउँसो पुनः बस्नेछ ।राजधानीबाट

प्रकाशित: २ माघ २०७७ ०६:४४ शुक्रबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी