राजनीति प्रदेश ३

'ओलीले अराजनीतिक चरित्र देखाई जनमतको अपमान गरे' : प्रकाशमान सिंह

15 Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति र प्रधानमन्त्री संविधानको मर्म र भावना अनुरुप नचलेको बताएका छन् ।

सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम विरुद्ध काठमाडौंमा आयोजित एक विरोध सभामा सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी संविधानको मर्म र भावना अनुरुप नचलेको बताएका हुन्।

नेपालको परिवेश अनुकुल स्थिरता र स्थायित्व दिनको निम्ति बुहमतप्राप्त सरकारले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको भएपनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानको मर्म अनुरुप नचलेको बताए । संविधानको रक्षक तथा पालना गर्ने संस्थाको रुपमा राष्ट्रपति रहेपनि संविधानको बर्खिलाप आएको प्रतिनिधिसभा विघटनको प्रस्ताव हेर्दै नहेरी अनुमोदन गरेकाले राष्ट्रपति पनि संविधान अनुरुप नचलेको उनको भनाई छ ।

संघीयता, लोकतन्त्र तथा गणतन्त्रलाई संस्थागत गर्नका निम्ति प्रधानमन्त्री ओली नेतृत्वको नेकपालाई जनताले दुईतिहाईको हाराहारीमा मत दिएको भएपनि ओलीले अराजनीतिक चरित्र देखाई जनमतको अपमान गरेको नेता सिंहले बताए। नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमका विरुद्द देशको ७ सय ५३ वटै पालिकाहरुमा शनिबार विरोध र्याली तथा सभाको आयोजना गरेको छ ।

 

प्रकाशित: ३ माघ २०७७ १७:२६ शनिबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी