काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली प्रवृतिलाई अघि बढाउने भुल नगर्ने बताएका छन् ।
शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय संघर्ष समितिले प्रतिनिधिसभा विघटनको विरुद्ध काठमाडौँमा आयोजना गरेको विरोध सभामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आगामी दिनमा केपी ओली प्रवृतिविरुद्ध भित्रभित्रै संघर्ष गर्ने र त्यस्तो प्रवृतिलाई अघि बढाउने भुल नगर्ने बताएका हुन् । उनले भने – ‘म तपाईं जनसमुदायलाई साक्षी राखेर के प्रतिज्ञा गर्न चाहान्छु भने अब हामी त्यस्तो केपी प्रवृतिजस्तो प्रवृतिप्रति उदार भएर भित्रभित्रै संघर्ष गर्ने अनि उनको प्रवृतिलाई अगाडि बढाउन त्यस्तो खालको भुल अब हामी गर्ने छैनौँ । म प्रतिबद्धता र संकल्प गर्न चाहान्छु ।’
अध्यक्ष प्रचण्डले जनयुद्धका घाइते र अपांगलाई उपचार गराउन सरकारलाई आग्रह गरेको भएपनि नमानेको र अहिले आफू अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले प्रचण्डले केही नगरेको भनि आरोपित गरेको बताए।
अध्यक्ष प्रचण्डले कालिबहादुर खामको मुद्दा ठिक ढंगले हल गर्न लगातार लागिरहेको बताए। उनले भने– ‘कालिबहादुर खाम खोई अरे ? त्यो कालिबहादुर खाम बिचरा आफैंले केही गरेको त होइन । उसको मुद्दा ठिक ढंगले हल होस् भन्नका लागि दश, एघार वर्षदेखि लगातार लागेको छु । उसलाई परेको साह्रो गाह्रो हेर्न मैले लगातार बल गरेको छु । अहिले त कालिबहादुर खाम तपाईंलाई प्रचण्डले हेर्दैन, जनमुक्ति सेनाको कमाण्डरलाई जसलाई मैले १० वर्ष स्कुलिङ गरेर, हुर्काएर, माया गरेर, विकास गरेर एउटा ठाउँमा पुर्याएको । ति मान्छेको चाहिँ अब केपी ओलीले संरक्षण गर्ने रे । आमाको दुध चुसेर भएन बा को घुँडो । जनमुक्ति सेनाका सबै कमाण्डर, योद्धा, घाइते साथीहरु भ्रमित नहुनुहोला ।’
अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको रगत, पसिना र बलिदानीले नेपालमा गणतन्त्र स्थापना भएको कुरा इतिहासमा स्वर्णिम अक्षरमा लेखिइसकेकोले इतिहासलाई कालो पोत्ने काम नगर्न जनमुक्ति सेनालाई अपिल पनि गरे ।
प्रकाशित: १० माघ २०७७ ०७:०७ शनिबार