राजनीति

नेकपा ओली समूहको सभा : सहभागीलाई भत्ता र फरार अभियुक्तलाई फूलमाला !

15 Shares

काठमाडौं ।

पछिल्लो समय नेकपाभित्र देखिएकाे विवादका कारण नेपाल कम्युनिष्ट पार्टीकाे दुवै समूहले शक्ति प्रर्दशन गरिरहेका छन् । कहिले राजधानीकाे सडकमा त कहिले ब्यांक्वेटदेखि पार्टी कार्यालयसम्म विविध कार्यक्रम भइरहेकाे छ ।

गत वर्षकाे चैत २९ गतेदेखि सिंहदरबार नपुगेका प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाकाे विघटनपछि मात्र दाङकाे भालुबाङ र धनगढी पुगे । त्यस्तै काठमाडौंमा गरिएका आफ्नो समूहकाे प्रदेशस्तरीय र भातृसंगठनका कार्यक्रमहरू अधिकतर सम्बाेधन गर्न भ्याउछन् ।

प्रधानमन्त्रीबाहेक अन्य आफूनिकट केन्द्रिय नेताहरूकाे उपस्थितिमा विभिन्न जिल्लामा उत्तिकै कार्यक्रमहरू भइरहेकाे छ । पछिल्लाे समय केपी समूहले व्यापकरुपमा कार्यक्रम र सभालाई प्राथकिता दिइरहेकाे छ ।

केपी समूहले मात्र नभइ प्रचण्ड समूहले पनि उत्तिकै कार्यक्रम गर्दै आइरहेकाे छ । तर सप्तरीमा मंगलबार भएकाे केपी समूहकाे कार्यक्रमकाे चर्चा गरौं । मंगलबार सप्तरीमा आयाेजना गरिएकाे कार्यक्रममा उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले सम्बाेधन गरे । उक्त कार्यक्रमले भने फरक किसिमकाे समाचारले स्थान पाएकाे छ ।

उपप्रधानमन्त्री पोखरेल उपस्थित कार्यक्रममा फरार अभियुक्तलाई फूलमाला लगाएर पार्टीमा भित्र्याएका छन् । यस्तै विपन्न समुदायका नागरिकहरूलाई २०० रुपैयाँ भत्ता दिएर उपस्थित गराइएकाे पाइएकाे हाे । उपप्रधानमन्त्री पोखरेलले विस्फोटक पदार्थसम्बन्धी मुद्दामा सप्तरी जिल्ला अदालतले १८ महिना कैद सजाय तोकेर फरार सूचीमा रहेका छिन्नमस्ता गाउँपालिका सखडाका रामनारायण यादवलाई पार्टी प्रवेश गराए ।

फरार सूचीमा रहेका रणबीर सिंह भनिने रामनारायण यादवलाई मंगलबर उपप्रधानमन्त्री ओलीले मन्त्रीहरुका बीच पार्टीमा भित्र्याएका हुन् । यादवसँगै तत्कालीन भूमिगत सशस्त्र समूह जनतान्त्रिकका अन्य केही कार्यकर्तालाई समेत पोखरेलले मंगलबार पार्टी प्रवेश गराएका छन् । फरार सूचीमा रहेर मंगलबार नेकपामा प्रवेश गरेका रामनारायण यसअघि सशस्त्र संघर्ष छोडेर अनिल झा नेतृत्वको तात्कालीन नेपाल सद्‌भावना पार्टीमा प्रवेश गरेका थिए । सो पार्टीमा केन्द्रीय उपाध्यक्ष भएका रामनारायण ६ पार्टी एकीकरण भई बनेको राजपा नेपालमा पनि केन्द्रीय उपाध्यक्ष नै थिए । राजपा र समाजवादी पार्टी मिलेर बनेको जनता समाजवादी पार्टीमा समेत उनी केन्द्रीय सदस्य थिए ।

त्यस्तै २०० रुपैयाँ र खाजा खुवाउने लोभ देखाएर नकटीरायपुरका स्थानीयलाई एउटा ट्याक्टरमा बसाएर राजविराज ल्याइएको उनीहरूले बताएका छन् । रुपनी गाउँपालिका-१ नकटीरायपुरका भोला सदाले भनेका छन्-‘प्रतिव्यक्ति २ सय रुपैयाँ दिने र खाजा दिने भन्दै आफूहरुलाई यहाँ ल्याइएको छ । अहिले जाडोमा कुनै काम पनि पाउँदिनँ । कम्तिमा २ सय रुपैयाँ त आउँछ भनेर आएको हुँ ।’

त्यस्तै तिरहुत गाउँपालिका,छिन्नमस्ता गाउँपालिका,बिष्णुपुर गाउँपालिका र कञ्चनरुप नगरपालिकालगायतका क्षेत्रबाट खाजा र भत्ताकाे लोभमा स्थानीय व्यक्तिहरूलाई ल्याएकाे खुलेकाे हाे । कार्यक्रममा अधिकांश महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई ट्याक्टर, म्याजिक र बसमा चढाएर रंगशालासम्म ल्याइएको खुलेको छ । सो क्रममा सहरी विकासमन्त्री प्रभु साह, कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुली महतोलगायत सम्बाेधन गरेका थिए ।

प्रकाशित: १४ माघ २०७७ १९:३५ बुधबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी