काठमाडौँ ।
देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले कार्टुन प्रदर्शनीमार्फत सरकारको विरोध गरेको छ ।
मोर्चाले बिहीबार काठमाडौँको रत्नपार्कस्थित शान्तिवाटिकामा पछिल्लो राजनीतिक घटनाक्रमलाई व्यङ्ग्य गर्दै तयार पारिएका विभिन्न कार्टुनमार्फत सरकारको विरोध गरेको हो । मोर्चाका संयोजक सिपी गजुरेलले संसदीय पार्टीका नेताहरुको चरित्र र अहिलेको गणतन्त्रलाई कार्टुनमार्फत देखाइएको बताए । यस्तै पछिल्लो राजनीतिक घटनाक्रमबाट अन्याैलमा परेका जनतालाई बुझाउन पनि कार्टुन प्रदर्शनी गरिएको उनको दावी छ ।
प्रदर्शनीमा राखिएका कार्टुनहरुले देशमा परिवर्तन आउन नसकेको, राष्ट्रिय स्वाधिनताको रक्षा हुन नसकेको, देशको विकास र समृद्धि हुन नसकेको र रोजगारी पाउन नसकेर अन्योलमा परेका नागरिकहरुलाई समेत देखाइएको संयोजक गजुरेल बताउँछन् । कार्टुनमार्फत अन्योलमा परेका जनतालाई अहिलेको राजनीतिक दलहरुले कुनै निकास दिन नसक्ने सन्देश दिन खोजिएको पनि संयोजक गजुरेलले प्रष्ट पारे ।
अहिलेको व्यवस्थाले जनतालाई निकास नदिने भएकाले अब नयाँ परिवर्तन ल्याउन नयाँ विकल्पको खोजी गर्नुपर्ने पनि संयोजक गजुरेलको दावी छ । देशमा संघीय जनगणतन्त्र ल्याउनुपर्ने कुरालाई पनि कार्टुनमार्फत देखाउन खोजिएको उनले बताए ।
प्रकाशित: १५ माघ २०७७ १७:५९ बिहीबार