1
1
1

निर्वाचन आयोग दल दर्ताको तयारीमा, ९ लाख नयाँ मतदाता थप हुने

1
1

काठमाडौं ।

निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न असहज हुने निष्कर्षसहित निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोगले निर्वाचनका लागि आवश्यक पर्ने काम अघि बढाउनुपर्ने भएकाले आयोगले दल दर्ताको आह्वान गर्दै सूचना प्रकाशन गर्ने तयारी गरेको जानकारी दिए ।

‘निर्वाचनमा भाग लिन चाहने दलहरूले निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गर्नु पर्छ । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न पनि आयोगले अब दल दर्ता लगायतका काम अघि बढाउनु पर्छ । दल दर्ता गर्न आयोगले आह्वान गर्दै सूचना प्रकाशन गर्ने तयारी गर्दैछ,’ आयोगका प्रवक्ता श्रेष्ठले भने ।

आयोगले हाल आचारसंहिताको मस्यौदासमेत बनाइरहेको छ । यस्तै अर्थ मन्त्रालयसँग निर्वाचनका लागि बजेट माग गर्न आयोग तयारी अवस्थामा पुगेको छ । यसैगरी निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्रीको व्यवस्थापनको काममा समेत आयोग अघि बढिरहेको छ भने आयोगले बिहीबारबाट देशभरका स्थानीय तहका केन्द्रमा मतदाता नामावलीमा भएको त्रुटि सच्याउन भन्दै मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गरेको छ ।

आयोगले हाल मतदान केन्द्र र मतदान स्थल पुनरावलोकन गर्ने लगायतका काम गरिरहेको छ । आयोगले करिब ९ लाख नयाँ मतदाता बढ्दै गर्दा विगतको निर्वाचनमा भन्दा करिब १२ सयको संख्यामा मतदान केन्द्रसमेत थप गर्ने तयारी गरेको छ ।

आयोगले यसबीचमा निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूसँग समेत छलफललाई निरन्तरता दिने बताउँदै आएको छ । आयोगका प्रवक्ता श्रेष्ठले संघीय संसद्मा प्रतिनिधित्व गरेका, प्रदेशसभामा प्रतिनिधित्व गरेका र स्थानीय तहमासमेत गरी कहीँ न कहीँ प्रतिनिधित्व गरेका दललाई आयोगले निर्वाचन केन्द्रित छलफलमा बोलाउने जानकारी दिए ।राजधानीबाट

प्रकाशित: १७ माघ २०७७ ०६:३५ शनिबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी