सरकारका दुई बर्ष : सरकार–पार्टी सम्बन्धमा उतारचढाव

सरकारका दुई बर्ष : सरकार–पार्टी सम्बन्धमा उतारचढाव


काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्वमा सरकार गठन भएको दुई वर्ष बितिसकेको छ । तर यस अवधिमा सरकार र पार्टीबीचको सम्बन्ध सुमधुर बन्न नसकेको अवस्था छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको सरकारको अर्का अध्यक्ष पुष्पकमल दाहालले खुलेर प्रशंसा गर्न सकेका छैनन् । सरकारमा सहभागी भए बाहेकका अन्य पार्टी नेताले पनि सरकारको काम कारबाहीको प्रायः आलोचनै गरेका छन्।

सरकार बनेको एक वर्ष नपुग्दै नेकपाभित्र पार्टीले सरकार चलाउने कि सरकारले पार्टी चलाउने भन्ने द्वन्द्व सुरु भयो। २०७५ माघ ९ गते प्रधानमन्त्री ओली नेपालमा नभएका बेला पार्टीका तर्फबाट दाहालले अमेरिकाले भेनेजुएलामा नाकाबन्दी लगाएको प्रसंगमा भेनेजुएलाको समर्थन गरेपछि सरकार र पार्टीबीचको सम्बन्ध झनै तितो बनेको थियो।

अध्यक्ष दाहालले अर्का अध्यक्ष ओली देशबाहिर भएको बेला दिएको वक्तव्यलाई लिएर पार्टी र सरकारमा तरंग पैदा भएको थियो। दाहालले विज्ञप्तिमा अमेरिकाको निन्दा गरेका थिए। भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगीबाट हस्तक्षेप भएको, जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको तथा सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको आरोप दाहालले लगाएका थिए। नेपाल फर्केपछि ओलीले दाहालको विज्ञप्ति पार्टीको आधिकारिक धारणा नभएको बताएपछि उनीहरु दुईको सम्बन्ध बिग्रेको थियो।

त्यसपछि २०७५ माघ २५ गते एक सार्वजनिक कार्यक्रममा दाहाल सरकारविरुद्ध खनिएका थिए। उनले संविधानले व्यवस्था गरेको अधिकार प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गर्न नचाहेको भन्दै सरकारको आलोचना गरेका थिए। उनले सरकार शान्ति सम्झौता र संविधानको मर्मविपरीत चलिरहेको गम्भीर आरोपसमेत लगाएका थिए। दाहालले २०७६ जेठ ३ गते आयोजित पार्टी एकता दिवसमा पनि सरकारको आलोचना गरेका थिए।

त्यति बेला दाहालले संविधानलाई आत्मसात् गरेर त्यसको इमानदार कार्यान्वयन गर्ने कुरामा विलम्ब गरे मुलुक भयानक दुर्घटनामा फस्ने चेतावनी दिएका थिए। उनले सीमान्तकृत तथा उपेक्षित जनतालाई राष्ट्रको मालिक भएको महसुस हुनेगरी सन्तुष्टि दिन सरकारले बेवास्ता गरिरहे मुलुकका लागि दुर्भाग्य हुने टिप्पणी उनको थियो। दाहालले स्थिति यही रहिरहे मधेसमा एक खालको, पहाडमा अर्को खालको आन्दोलन सुरु हुने खतरा रहेको दाबी गरेका थिए।

वरिष्ठ नेता माधवकुमार नेपालले सातबुँदे असहमति लेखेर नै सरकारको आलोचना गरेका थिए । ‘स्थायित्व, शान्ति र विकासको अपेक्षासहित हाम्रो पार्टीलाई जनताले दिएको मत र समर्थनका आधारमा पार्टी अध्यक्षको नेतृत्वमा गठित झन्डै दुईतिहाइ बहुमतको सरकारले पार्टीको नीति, निर्णय र योजनामा काम गरिरहेको छैन। त्यतिमात्र होइन, जनअपेक्षाअनुरुप काम गर्न नसक्दा सरकार र पार्टीप्रति समेत जनतामा नकारात्मक धारणा बढ्दै गएको छ’, उनले असहमतिमा उल्लेख गरेका थिए।

अर्का वरिष्ठ नेता झलनाथ खनालले पनि बेलाबखत सरकारको कामलाई लिएर आलोचना गरिरहेका छन्। पार्टी उपाध्यक्ष वामदेव गौतमले त सरकार र पार्टी एकै व्यक्तिले चलाउनुहुँदैन भन्दै ओलीको अधिकार कटौतीको मागसमेत गरेका थिए। २०७५ मंसिर २९ गते बसेको स्थायी कमिटी बैठकमा फरक मत राख्दै गौतमले ओलीको अधिकार कटौतीको माग गरेका थिए। त्यो माग अहिले आएर पूरा भएको छ। अहिले पार्टी सञ्चालनको कार्यकारी अधिकारको जिम्मेवारी दाहालले पाएका छन्। त्यति बेला गौतमले पार्टी र सरकार सञ्चालन नेतृत्वको लहडबाट भइरहेको भन्दै सबैतिर मनपरी ढंगले काम भएको आरोप लगाएका थिए।
नागरिकबाट

Logo