क्रिश्चियन धर्मको प्रचार गर्ने ३ विदेशी पोखराबाट पक्राउ

क्रिश्चियन धर्मको प्रचार गर्ने ३ विदेशी पोखराबाट पक्राउ


पोखरा । धर्म प्रचार गरेको आरोपमा तीन विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ३७ वर्षकी जापानी महिला रैको सेकिया, ३७ वर्षकै पुरुष जायरो सेकियो र दक्षिण कोरियाका ७३ वर्षीय चो योसाङ रहेको प्रहरीले जनाएको छ । रत्नचोकमा इसाई धर्म प्रचारको आरोपमा उनीहरुलाई सोमबार पक्राउ गरिएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

तीन वर्षयता पोखरा बस्दै आएका उनीहरु लेकसाइडस्थित बस्ने कोठाबाट केही थान बाइबलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

पक्राउ परेका तीनजनालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रवक्ता केसीको भनाई छ । कुनै पनि व्यक्तिको धर्म परिवर्तन गराउने वा त्यसमा खलल पार्ने गतिविधि गर्न नहुने संविधानमा उल्लेख छ ।

यसअघि पनि सरकारले अध्ययन भिसामा आएर धर्म प्रचार गर्ने दुई विदेशी नागरिकलाई कारबाही गरेको थियो । गृह मन्त्रालयले इसाई धर्म प्रचारमा संलग्न जापानी नागरिक मोरिता मासाहिरो र हासिमोतो युकारीलाई नेपाल प्रवेशमा पाँच वर्ष प्रतिबन्ध लगाई देश निकाला गरेको थियो ।

Logo