गठबन्धन टुटेपछि पार्टीमा देउवाकाे ब्रिफिङ- प्रचण्डकाे नियत नै धोका दिने रहेछ

गठबन्धन टुटेपछि पार्टीमा देउवाकाे ब्रिफिङ- प्रचण्डकाे नियत नै धोका दिने रहेछ

केन्द्रबिन्दु
182
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लोसमय विकसित राजनीतिक घटनाक्रमबारे पार्टीमा ब्रिफिङ गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई छाडेर नेकपा एमाले, रास्वपासँग गठबन्धन गर्ने निर्णय लिएपछि सभापति देउवाले आफ्नै निवास बूढानिलकण्ठमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएर ब्रिफिङ गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले धोका दिएको उनको निष्कर्ष थियो । ‘मलाई दिनमा दुई पटक केपी ओलीले फोन गर्ने गरेका थिए। भेट्न आउँछु भन्थे। मैले गठबन्धनमा आशंका हुन्छ भनेर ओलीलाई भेट्दा पनि भेटिनँ,’ सभापति देउवाले पदाधिकारी बैठकमा भने, ‘सबै कुरा दिँदा पनि प्रचण्डले गठबन्धनलाई अगाडि बढाउन मानेनन्। उनको नियत नै धोका दिने रहेछ।’

बैठकमा मन्त्रीहरुको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल भएको थियो । तर प्रधानमन्त्रीले गठबन्धनको औपचारिक बैठक पनि नराखेको र मन्त्रीहरुको राजीनामा पनि नमागेकाले यसबारे हतारमा निर्णय नगर्ने सहमति भएको छ । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फागुन २२ गते दिउँसो ३ बजे बस्ने भएको छ ।

यता माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका नेताको प्रतिनिधित्व रहने गरी सानो मन्त्रीमण्डल गठन गर्ने सहमति गरेको छ । प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन् । सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ । सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ ।

Logo