प्रचण्ड भन्छन्- ‘म रहँदासम्म देशमा उथलपुथल भइराख्छ’

प्रचण्ड भन्छन्- ‘म रहँदासम्म देशमा उथलपुथल भइराख्छ’

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी गडगडाउँदो खोला जस्तो बग्ने नदी भएकाले निरन्तरतामा रमाएर स्थिरतामा बस्न नसक्ने तर्क गरेका छन् ।

राजधानीमा सोमबार आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् । कांग्रेससँगको सत्ता गठबन्धन तोडेर नयाँ समीकरण बनाएका उनले माओवादी सिद्धान्त र व्यवहारको दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने नभई गडगडाउँदो बग्ने नदी भएको बताए ।

उनले निरन्तरतामा रमाएर स्थिरतामा बस्न नसक्ने भन्दै क्रमभंग गर्दै नयाँ नयाँ परिस्थितिहरू निर्माण गर्दै अगाडि बढ्ने जात माओवादी रहेको बताए । उनले भने, ‘आजको दिन अलि विशेष दिन भयो । आजको दिन फेरि एकचोटि नयाँ ध्रुवीकरण, नयाँ राजनीति परिस्थिति सृजना भयो, फेरि एउटा उथलपुथल हुने दिन बन्यो । साँचो कुरा हो, माओवादी जहिले पनि सिद्धान्त र व्यवहारको दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन । गडगडाउँदो खोला जस्तो बग्ने नदी हो । निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । निरन्तरतामा क्रमभंग गर्दै नयाँ नयाँ परिस्थितिहरू निर्माण गर्दै अगाडि बढ्ने जात हो ।’

प्रधानमन्त्री प्रचण्डले सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रीत हुन आवश्यक रहेका भन्दै खिइँदैै, सुक्दै र एक्लो हुँदै अनि फेरि ठूला कुरा गरिराख्न नमिल्ने बताए । उनले आफूलाई प्रतिक्रियावादीहरूले घेरा हालेर सिध्याउने प्रयास गरेको भन्दै त्यस्तो घेरा तोड्दै जाने र आफू नमर्दांसम्म देशमा उथलपुथल भइरहने बताए । उनले कांग्रेसको नाम नलिइ सँगै रहेर सत्ता सञ्चालन असहज भएकाले नयाँ परिस्थिति बनेको संकेत गरे ।

उनले भने, ‘हामी माओवादी नेपाल राष्ट्र र जनताको घोडा हो । सबै क्रान्तिकारी एक ठाउँमा केन्द्रीत हुन आवश्यक छ । खिइँदैै, सुक्दै एक्लो हुँदै अनि फेरि ठूला कुरा गरिराख्ने यस्तो हुँदैन । यो नहुने बुद्धितिर नलागौं । मैले भनिहालेँ म त म नै हो । म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ । मलाई घेरा हालेर सिध्याउन धेरै खोजे तर त्यस्तो घेरा तोड्दै आएका छौं, तोड्दै जान्छाैं ।’

Logo