‘न्यूनतम साझा कार्यक्रम’अनुसार काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीकाे निर्देशन

‘न्यूनतम साझा कार्यक्रम’अनुसार काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीकाे निर्देशन

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा आइतबार उनले सरकारको न्यूनतम नीति तथा कार्यक्रमअनुसार थप गतिशील भएर काम गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘बदलिएको परिस्थितिमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालयहरू र सिंगो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ । विगतको कार्यक्रमकै वरिपरि हुनेगरी चाँडै कार्यक्रम आउनेछ । सोहीअनुसार काम गर्नुपर्ने छ ।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका निकायको लक्ष्यअनुसारको कार्यसम्पादन प्रगतिसम्बन्धमा मासिकरूपमा छलफल गर्ने, समस्या पहिचान गर्ने र सुधार गर्नेतर्फ विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजना नियमित गर्नका लागि कार्यतालिका बनाएर अगाडि बढ्ने व्यवस्था गर्न समेत निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तोकिएको लक्ष्य, तोकिएकै समयमा पूरा गर्न जरुरी रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यसका लागि कार्यालयले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए । आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम तयारीको चरणमा प्रवेश भएको उल्लेख गर्दै उनले चालु आर्थिक वर्षको कार्यसम्पादनको स्थिति विश्लेषण गरी आगामी वर्षको तयारीमा लाग्न समेत निर्देशन दिएका हुन् ।

Logo