भीमदत्तले झिलमिला तालको गुरु योजना बनाउँदै, केबुलकारको सम्भाव्यता अध्ययन

भीमदत्तले झिलमिला तालको गुरु योजना बनाउँदै, केबुलकारको सम्भाव्यता अध्ययन


महेन्द्रनगर । भीमदत्त नगरपालिकाले झिलमिला तालको व्यवस्थित पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा गुरु योजना बनाउने भएको छ । गुरु योजना निर्माणका लागि यस वर्ष १५ लाख बजेट विनियोजन गरिएको छ ।

भीमदत्त नगरपालिका वडा नं. ९ को चुरे क्षेत्रमा पर्ने ताल धार्मिक, साँस्कृतिक र प्राकृतिक हिसाबले महत्वपूर्ण मान्ने गरिएको छ । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले तालको पर्यटन प्रवद्र्धनलाई प्राथमिकतामा राखेर गुरु योजना बनाउन लागेका हुन् ।

नगर प्रमुख विष्टले तालको व्यवस्थित र योजनाबद्ध पर्यटन विकासका लागि गुरु योजना बनाउन लागिएको बताए । ‘तालको व्यवस्थित र योजनाबद्ध विकास तथा पर्यटन प्रवद्र्धनका लागि गुरु योजना बनाउन १५ लाख बजेट विनियोजन गरिएको छ’ उनले भने, ‘यस वर्ष गुरु योजना बनाउँछौ ।’

अव्यवस्थित पूर्वाधार निर्माणले तालको प्राकृतिक, धार्मिक र साँस्कृतिक महत्वलाई आँच आउने भएकाले योजनाबद्ध विकासका लागि गुरु योजना आवश्यक भएको उनले जनाए ।

भीमदत्तले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गरी कार्यक्रम सञ्चालन गरिएका छन् । भ्रमण वर्षलाई मध्यनजर गरी गत महिना शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको थियो ।

अहिले सवारीबाट झिलमिला तालसम्म पुग्ने गरी बाटो निर्माण गरिएको छ । मटेनाबाट ताराकोटसम्म सवारी प्रयोग गरी पुग्न सकिन्छ । ताराकोटबाट पदमार्ग भएर ९ मिटर दुरी पार गरी तालमा पुग्न सकिन्छ ।

मटेनाबाट चार किलोमिटर पक्की र बाँकी सडकको ट्रयाक खोलिएको छ । नगर प्रमुख विष्टले आगामी वर्षमा ताराकोटसम्म पक्की बाटो पुग्ने बताए । तारकोटसम्म सडक निर्माण भएपछि दैनिक रुपमा एक सय हाराहारीमा दर्शनार्थी पर्यटक ताल क्षेत्रमा पुग्ने गरेको भीनपा वडा नं. ९ का अध्यक्ष राम नाथले बताए ।

१८ मिटर गहिरो तालको दैनिक रङ फेरिने, चारैतिर घना जङ्गल भएर पनि तालमा पात नदेखिने, पानी सधैं एक नाशको रहने तथा माछाको स्थिर आकारका कारण अचम्मको मान्ने गरिएको छ ।

ब्रह्मदेबबाट झिलमिलातालसम्म केबुलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन भईरहेको छ । ताराकोटमा भ्यू टावर निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले ताराकोटमा पिकनिक स्पट, धर्मशाला लगायतका पूर्वाधार निर्माणका लागि छलफल गरिरहेको छ । केही महिना अघि पूर्व उद्योग मन्त्री कर्ण थापाले नेताहरुसहित तालको अवलोकन भ्रमण गरेका थिए ।

Logo