प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सर्वसम्मत अनुमोदन

प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सर्वसम्मत अनुमोदन


काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरिएका दिनेश थपलियाको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएको छ । बुधबार उजुरीकर्ता र थपलियासँग छलफलपछि सुनुवाइ समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

थपलियाविरुद्ध सुनुवाई समितिमा ६ वटा उजुरी परेको थियो । सुनुवाई समितिमा थपलियाले सबै निर्वाचनमा विद्युतीय मतदान प्रणालीको विकास गर्ने महत्वकांक्षी योजना अघि सारेका छन् ।

निर्वाचन प्रणालीमा आमूल परिवर्तनको खाँचो रहेको औंल्याउँदै त्यसका लागि सबै स्थानीय तहमा मतदाता नामावली संकलन र अध्यावधिक हुने गरी ‘निर्वाचन समन्वय ईकाई’ स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरे ।

आफू प्रमुख निर्वाचन आयुक्तमा अनुमोदित भए स्थानीय तहले पनि निर्वाचनको अपनत्व पाउने गरी सबै स्थानीय तहमा निर्वाचन समन्वय ईकाई स्थापना गर्ने थपलियाको योजना छ । थपलियाले प्रदेशमा पनि निर्वाचन कार्यालय स्थापना गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन प्रणालीमा आमूल परिवर्तन गर्न मतदाता नामावली संकलन र अध्यावधिक गर्न अनलाईन प्रणालीको विकास गर्ने समिति समक्ष प्रतिवद्धता व्यक्त गरे । निर्वाचन प्रणालीको आमूल परिवर्तन गरेर मात्रै निर्वाचनलाई स्वच्छ र पारदर्शी बनाउन सकिने उनको भनाई छ ।

बुधबारको सुनुवाइ समितिको बैठकले राष्ट्रिय समावेशी आयोगको सदस्यमा विष्णुमाया ओझाको नाम पनि सर्वसम्मत अनुमोदन गरेको छ ।

Logo