स्कुल बसले किचेर शिक्षिकाको मृत्यु, छोरा सकुशल

स्कुल बसले किचेर शिक्षिकाको मृत्यु, छोरा सकुशल


वीरगञ्ज । स्कुल बसको ठक्करबाट एक शिक्षिकाको ज्यान गएको छ । पढाउन विद्यालय गईरहेकी वीरगञ्ज महानगरपालिका १९ नगवा मिथिला नगरकी शिक्षिका गुञ्जन चौरसियाको बसले किच्दा ज्यान गएको हो ।

दिल्ली पब्लिक स्कुलको ना १ क ७७६७ नम्बरको बसको ठक्करबाट उनको ज्यान गएको प्रहरीले जनाएको छ । अलौं माविमा पढाउने शिक्षिका चौरसिया चढेको ना २३ प ७९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकमा पल्टेको थियो । पल्टेपछि स्कुल बसले चौरसियालाई किचेको प्रहरीले जनाएको छ ।

बसको पछाडिको भागले किचेर गम्भीर घाइते उनको नारायणी अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले जानकारी दिए ।

मोटरसाइकल चालक गुञ्जनको छोरा साहिल चौरसिया भने सकुशल छन् । माइस्थानबाट घण्टाघर आउँदै गरेको मोटरसाइकल माइस्थान चोक नजिकै अनियन्त्रित हुँदा मोटरसाइकलको पछाडि बसेकी चौरसिया खसेर विपरीत दिशाबाट जाँदै गरेको बसको पछाडिको चक्कामा परेकी थिइन् ।

Logo