सञ्चारमन्त्रीको निर्देशनपछि नेपालमा PUBG खेलमाथि प्रतिबन्ध

सञ्चारमन्त्रीको निर्देशनपछि नेपालमा PUBG खेलमाथि प्रतिबन्ध


काठमाडौं । सरकारले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएका हुन् ।

मन्त्रीको निर्देशनपछि प्रतिबन्ध लगाएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । प्रवक्ता अर्यालका अनुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको आग्रहमा पब्जी खेल डाउनलोड र खेल्ने काम रोक्नका लागि निर्देशन दिएको छ। पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको उनको भनाई छ । यसअघि दैनिक घन्टौसम्म छोराछोरी मोबाइल ग्याममा रमाउन थालेको भन्दै त्यसमाथि प्रतिबन्धको माग गर्दै केही अभिभावकहरु प्रहरीकहाँ पुगेका थिए ।

आधुनिक बन्दुक प्रयोग गरेर युद्ध खेल्ने भिडियो गेम प्लेयर अन्नोन ब्याटल ग्राउन्ड (पब्जी) मै मात्र छोराछोरीले ध्यान दिन थालेपछि अभिभावकहरुले प्रहरीसँग प्रतिबन्ध लगाउन माग गरेका थिउ । पब्जीकै कारण राति सुत्दा बच्चा भर्भराउने समस्या डरलाग्दो रुपमा देखिएको भन्दै अभिभावकहरु चिन्तित बनेका थिए ।

केही दिन अघि तीन अभिभावकले महानगरीय प्रहरी अपराध महाशाखामा गएर यसमाथि प्रतिबन्ध लगाउन माग गर्दै उजुरी दिएका थिए । महाशाखा प्रमुख एसएसपी धीरज प्रताप सिंहलाई भेटेर पब्जी गेम बन्द गराउने उपाय खोज्न अनुरोध गरेका थिए । साना साना छोरा छोरी रातभर नसुतेर एकाएक हान्, हान्, मार्, मर्‍यो जस्ता आवाजले भर्भराउन थाल्ने गरेको अभिभावकहरुको गुनासो छ ।

लाइभ च्याट गरेरै खेल्न मिल्ने पब्जीमा एक पटकमा ६ जना भन्दा बढी खेल्न मिल्छ। बालबालिकादेखि किशोरकिशोरी समेत पब्जीमा रमाउने गरेका छन् । एन्ड्रोइड मोबाइलमा पब्जी गेम डाउनलोड गर्ने १० करोड बढी नाघिसकेका छन्।

भारतमा केही दिन अघि मात्रै आमाले पब्जी गेम खेल्न नदिएको भन्दै एक बालकले आत्महत्या गरेको घटना सार्वजनिक भएको थियो । त्यस्तै विश्वका विभिन्न देशहरुमा पब्जीका कारण धेरै मानिसले ज्यान गुमाईसकेका छन् ।

पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो । यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

Logo