के अख्तियारमाथि राजनीतिक दबाव आएको हो ?

के अख्तियारमाथि राजनीतिक दबाव आएको हो ?


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको अनुसन्धानमाथि कुनै पनि प्रकारको राजनीतिक दवाव नआएको स्पष्ट पारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले आयोगको अनुसन्धानमाथि कुनै पनि प्रकारका राजनीतिक दवाव नआएको प्रष्ट पारे ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आयोग कुनै पनि प्रकारको राजनीतिक दवावमा नपरी संविधानले दिएको अधिकारभित्र रहेर अनुसन्धानको कामलाई स्वतन्त्रतापूर्वक अघि बढाउन सचेत रहेको बताए । प्रमुख आयुक्त घिमिरेले वाइडबडी विमान खरिदमा भएको अनियमितताबारे अनुसन्धान भईरहेको पनि समितिलाई जानकारी गराए ।

हाल निगम संचालक समितिका पदाधिकारीहरुमाथिको अनुसन्धानको काम भईरहेको उल्लेख गर्दै उनले अब विदेशी कम्पनीहरुसँग अनुसन्धानको कामलाई अघि बढाउन १५ दिने सूचना जारी गरिएको जानकारी गराए । वाईडबडी विमान खरिदमा भएको अनियमितताबारे अनुसन्धानको कामलाई छिट्टै निष्कर्षमा पुर्‍याउन आयोग प्रतिबद्ध रहेको प्रमुख आयुक्त घिमिरेको भनाई छ ।

आयोगले स्थानीय तहमा भ्रष्टाचार बढ्दै गईरहेकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न तत्काल सबै स्थानीय तहमा लेखा परीक्षण हेर्ने संयन्त्रको तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । प्रमुख आयुक्त घिमिरेले स्थानीय तहमा भ्रष्टाचार हुन नदिन आयोगले २१ वटा जिल्लाका अभिमुखिकरण कार्यक्रम संचालन गरेको र त्यसलाई आवश्यक्ता अनुसार सबै जिल्लामा विस्तार गर्दै लैजाने योजना रहेको पनि समितिलाई जानकारी गराए ।

बैठकमा समितिमा सदस्यहरुले राजनीतिक दवावका कारण अख्तियारले भ्रष्टाचारका ठूल्ठूला केसमाथि अनुसन्धान गर्न नसकेको दावी गरेका थिए । समितिका सदस्य दिलेन्द्रप्रसाद बडुले राजनीतिक दवावका कारण ठूल्ठूला भ्रष्टाचारको अनुसन्धानको काम अघि बढाउन आयोगले नसकेको आशंका व्यक्त गरे ।

उनले अनियमितता हुन नदिन अख्तियारले खेलेको भूमिका सन्तोषजनक नरहेको पनि बताए । समितिका सदस्यहरुले जनताले भ्रष्टाचार बढदै गईरहेको महसुस गरेपनि त्यसलाई नियन्त्रण गर्ने काम हुन सकेको भन्दै चिन्ता पनि व्यक्त गरेका थिए ।

Skip This
Logo