बेपत्ताको खोजी तीव्र बनाई घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

बेपत्ताको खोजी तीव्र बनाई घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

केन्द्रबिन्दु
126
Shares

काठमाडाैं । नेपाली कांग्रेसले अविरल वर्षा, बाढी र पहिरोमा परी बेपत्ता भएकाको खोजी तीव्र रुपले गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

कांग्रेस कार्यसम्पादन समितिको आजको बैठकले सबै घाइतेको निःशुल्क उपचारको प्रबन्ध गर्न पनि माग गरेको कांग्रेसका कार्यवाहक मुख्य सचिव डा प्रदीप पराजुलीले जानकारी दिए ।

अविरल वर्षा, बाढी र पहिरोमा परेर केही दिनयता एक सयभन्दा बढीको मृत्यु, कैयौँ बेपत्ता र घाइते भएका घटनाले सबै नेपालीलाई मर्माहत बनाएको उल्लेख गर्दैै कांग्रेसले घटनाप्रति दुःख व्यक्त गरेको छ । समितिको बैठकले दिवङ्गतको आत्माको शान्तिको कामनासहित परिवारजनमा समवेदना प्रकट गरेको कार्यवाहक मुख्य सचिव डा पराजुलीले बताए ।

कैयौँ नागरिक अझै पनि देशको विभिन्न भागमा उद्धारको प्रतीक्षामा रहेको खबर आएका छन् । बैठकमा सरकारले सम्पूर्ण संयन्त्र केन्द्रित गरेर उद्धार कार्य सम्पन्न गर्न, स्वयंसेवी परिचालन गर्नुपर्ने माग गर्दै कांग्रेसका स्थानीय संरचना, अन्य सबै दल र सङ्घसंस्थालाई उद्धार र राहतमा ऐक्यबद्ध ढङ्गले काम गर्न आह्वान गरिएको कार्यवाहक मुख्य सचिव डा पराजुलीले बताए ।

प्राकृतिक प्रकोपले धेरै ठूला–साना सडक अवरुद्ध भएका छन् । कैयौँ पुल भत्किएका छन् र आवागमनमा असर परेको छ । अस्तव्यस्त बन्न पुगेको जनजीवनलाई यसले झनै कष्टकर बनाउन सक्ने देखिन्छ । चाडपर्वमा गाउँ जान चाहने नागरिकको चाप केही दिनपछि थपिन्छ । त्यसैले अवरुद्ध सडकको मर्मतसम्भार तीव्र गतिमा अघि बढाउन तथा पक्की पुल निर्माणमा समय लाग्ने तथ्य दृष्टिगतगरी बेलिब्रिज जडान गर्न कांग्रेस कार्यसम्पादन समिति बैठकले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

प्रकोपका कारण अर्बौंको क्षति भएको छ । केही विद्युत्गृह क्षतिग्रस्त बनेका छन् । विद्युत् उत्पादन र नियमित रहेको वितरणमा गम्भीर असर पुगेकामा कांग्रेसले चिन्ता व्यक्त गरेको छ । सञ्चार सेवा कैयौँ ठाउँमा अवरुद्ध भएको छ । खानेपानीको वितरण प्रभावित भएको छ । यसले गर्दा तत्काल भोग्नुपरेको समस्यामा नागरिक पङ्क्तिलाई विश्वासमा लिँदै अवस्था सामान्य बनाउन सम्बन्धित निकायलाई सघन रुपले परिचालन गर्न पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको कार्यवाहक मुख्य सचिव डा पराजुलीले उल्लेख गरे ।

विषम परिस्थितिको समयमा बजारमा बढ्नसक्ने कालोबजारी, सवारीसाधनको भाडामा हुने अनियमितता नियन्त्रण गर्न/गराउन बैठकले सरकार सचेत हुनुपर्नेमा जोड दिएको छ । नियमित रुपले झेल्नुपरेको प्राकृतिक विपद्सँग जुध्न आवश्यक पूर्वतयारी र उद्धारमा अझै तीव्रता दिँदै व्यवस्थित र शीघ्र तयारीको आवश्यकता देखिएको कांग्रेसको निष्कर्ष छ । तीनै तहको सरकारले निभाउनुपर्ने भूमिकाको एकीकृत रणनीति र प्रभावकारी कार्ययोजना निर्माण गर्न तथा उद्धारमा आवश्यक पर्ने स्रोतसाधनको पर्याप्त जोहो गर्न कार्यसम्पादन समितिको बैठकले सरकारलाई ध्यानाकर्षण गराएको छ ।

प्राकृतिक प्रकोपले राष्ट्रिय विपत्तिको रुप लिएको अवस्थामा नागरिक पङ्क्तिलाई थप सतर्कताको आह्वान गर्दै राजनीतिक दल, सङ्घसंस्थालाई यो स्थितिको सामना ऐक्यबद्ध रुपले गर्न पनि बैठकले आह्वान गरेको छ । क्षतिग्रस्त सबैखाले संरचनाको पुनर्निर्माणका लागि विपद्पछिको आवश्यकता मूल्याङ्कन तयार गर्ने प्रक्रिया सुरु गर्न बैठकले सरकारसँग आग्रह गरेको छ ।

Logo