हुम्लामा टेलिकमको टावर क्षमताभन्दा बढी सिम वितरण, सेवाग्राहीलाई सास्ती

हुम्लामा टेलिकमको टावर क्षमताभन्दा बढी सिम वितरण, सेवाग्राहीलाई सास्ती


हुम्ला।

हुम्लाको सदरमुकाम सिमकोटमा एक हप्तादेखि नेपाल टेलिकमको टेलिफोन सेवामा समस्या आएको छ । मोबाइलमा नेटवर्क देखाए तापनि पाँच, छ पटक डायल गरेपछि बल्ल घण्टी जाने गरेको, आवाज नसुनिने गरेको र कुराकानी गर्दा गर्दै सम्पर्क विच्छेद हुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको छ ।

स्थानीयवासी राजबहादुर भण्डारीले भने, “मोबाइलमा कुरा गर्दा आवाज स्पष्ट सुनिँदैन । सुनिएपनि बुझिँदैन। बिहान र बेलुका नेटवर्कले केही काम गरे पनि दिउँसो बढी समस्या देखिएको छ ।” नेटवर्कमा आएको समस्या समाधान गर्न पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए । अहिले मोबाइल नेटवर्कमा खराबी आएपछि काम गर्न सास्ती भएको छ ।

टेलिकमका प्रमुख शिव भट्टराईले जुम्ला र कालीकोट जिल्लामा रहेका रिपिटर टावरमा आएको खराबीले गर्दा समस्या आएको र समाधान गर्न काम भइरहेको जानकारी दिए। टावरको क्षमता कम र सिम बढी वितरण भएको हुँदा पनि यस किसिमको समस्या देखिएको उनको भनाइ छ । हुम्लामा टेलिकमको मात्र नभई निजी क्षेत्रको दूरसञ्चार प्रदायक कम्पनी एनसेलको सेवामा पनि समस्या रहेको छ।रासस

Logo