अब अन्तर्राष्ट्रिय उडानमा हवाई यात्रुको दुर्घटना बिमा १ करोड ७९ लाख

अब अन्तर्राष्ट्रिय उडानमा हवाई यात्रुको दुर्घटना बिमा १ करोड ७९ लाख


काठमाडौं । अब नेपालमा दर्ता भएका वायुसेवाबाट अन्तर्राष्ट्रिय उडान गर्ने यात्रुले दुर्घटनामा ज्यान गुमाएमा १ करोड ७९ लाख रूपैयाँ बिमाबापत क्षतिपूर्ति पाउने छन् । यसअघिको क्षतिपूर्ति रकमको तुलनामा ८ गुनाले बढेको हो ।

यसअघि यात्रुहरुले २० हजार डलर (२२ लाख ९८ हजार) क्षतिपुर्ती पाउँदैं आएको पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए । एक दशकदेखि चर्चामा रहेको मन्ट्रियल महासन्धी अनुसार यो दायित्व वृद्धि भएको हो ।

यो महासन्धिबारे नेपालमा पहिलोपटक २०६५ सालमा औपचारिक रुपमा चर्चा सुरु भएको थियो । भदौ पहिलो साता नेपालले मन्ट्रियल महासन्धि अर्थात् अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकिकरण गर्ने सम्बन्धमा भएको महासन्धि अनुमोदन गरेको थियो ।

त्यसपछि पर्यटन मन्त्रालयले यो नियमलाई अन्तर्राष्ट्रिय उड्डयन संगठनमा असोज ३० गते जानकारी गराएको थियो । ‘आइकाओमा जानकारी गराइएको ६० दिनपछि अर्थात शनिवारदेखि यो नियम लागू हुने सहसचिव लामिछानेको भनाई छ ।

आइकाओमा दर्ता गरिएपछि उक्त संस्थाले आफ्ना १ सय ९२ वटा सदस्य मुलुकहरुलाई जानकारी गराउनुपर्ने भएकाले ६० दिन लगाउने गरेको छ । मन्ट्रियल महासन्धि अनुमोदन गरी लागू गर्ने नेपाल १ सय ३५ औं मुलुक भएको छ ।

Logo