धुलिखेल अस्पतालमा सौर्य प्रणाली सञ्चालनमा

धुलिखेल अस्पतालमा सौर्य प्रणाली सञ्चालनमा


धुलिखेल

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको नौ करोड अनुदान सहयोगमा धुलिखेल अस्पतालले ३३५ किलोवाट क्षमताको सौर्य प्रणाली सञ्चालनमा ल्याएको छ ।

सो प्रणालीको विहिबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उद्घाटन गर्नुभयो । अस्पतालमा नवीकरणीय ऊर्जाको प्रयोगलाई बढावा दिने लक्ष्यका साथ अस्पतालले सौर्य प्रणाली जडान गरेको हो ।

अस्पतालले सो प्रणालीको क्षमता बढाएर एक मेगावाट पु¥याउने लक्ष्यसमेत राखेको छ । कूल लागत मध्ये केन्द्रले ८० प्रतिशत अनुदान उपलब्ध गराएको हो भने बाँकी २० प्रतिशत काठमाडौँ विश्वविद्यालय र अस्पतालले नै जुटाएको हो । सो परियोजनामा हालसम्म करीब १२ करोड खर्च भएको छ ।

अस्पतालले दुई चरणमा गरेर सौर्य प्रणाली जडान गरेको हो । पहिलो चरणमा १७५ किलोवाट र दोस्रो चरणमा १६० किलोवाट क्षमताको सौर्य ऊर्जा उत्पादन गरिएको छ । निकट भविश्यमा सौर्य प्रणालीलाई नेपाल विद्युत प्राधिकरणको प्रणालीमा जडान गर्ने तयारीसमेत गरिएको काठमाडौँ विश्वविद्यालयका स्कूल अफ मेडिकल साइन्सका डिन प्रा डा राजेन्द्र कोजूले जानकारी दिनुभयो ।

सो अवसरमा मन्त्री पुनले सरकारले जलविद्युत आयोजनाको विकास र प्रवद्र्धनसँगै नवीकरणीय ऊर्जालाई समेत अगाडि बढाइएको बताउनुभयो । सरकारले हरेक घरलाई ऊर्जा घरको नारासमेत अगाडि सारेको सन्दर्भमा अस्पतालले उदाहरणीय काम गरेको उल्लेख गर्दै उहाँले अन्य क्षेत्रमा समेत सौर्य प्रणालीको जडानमा विशेष सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री पुनले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेत सो विषय समावेश गरिएको उल्लेख गर्दै नेपालले विकास र समृद्धिका लागि यस क्षेत्रमा नमूनायोग्य काम गरिरहेको बताउनुभयो । ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सबै नेपालीलाई यसमा जोड्ने कार्ययोजनाका साथ सरकार लागिपरेको पनि उहाँले बताउनुभयो ।

काठमाडौँ विश्वविद्यालयका उपकूलपति डा रामकण्ठ मकाजूले आफूहरुले वैकल्पिक ऊर्जालाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको र सरकारबाट यसमा थप सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । सौर्य प्रणालीलाई थप विस्तार गरेर एक मेगावाट बनाइदिन आग्रह गर्दै उहाँले त्यसबाट अस्पतालको आवश्यकता परिपूर्ति हुने धारणा व्यक्त गर्नुभयो ।
रासस

Logo