निर्मलामाथि सामूहिक बलात्कार भएको प्रहरीको आशंका

निर्मलामाथि सामूहिक बलात्कार भएको प्रहरीको आशंका


काठमाडौं

बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ । यही आशंकामा चारजना पक्राउ परेका छन्, एक जना काठमाडौंमा र तीन जना महेन्द्रनगरमा ।

सामूहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंमा पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । त्यस्तै अन्य तीनजनालाई महेन्द्रनगरमै पक्राउ गरिएको हो । उनीहरू सबैजना लागुऔषध दुर्व्यसनी रहेको र केहीले अपराध स्वीकार गरेको प्रहरी स्रोत बताउँछ । तर डिएनए परीक्षणबाट पुष्टि नभएसम्म औपचारिक विवरण सार्वजनिक नगर्ने प्रहरीले जनाएको छ ।

केही युवकले गल्ती आफूहरूले गरेको, तर प्रहरीले अरूलाई दुःख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै स्थानीयले त्यस सम्बन्धी सूचना प्रहरीलाई दिएका थिए । तर त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए । चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा गर्दै जाँदा प्रदीपलाई काठमाडौंमा र अरूलाई महेन्द्रनगरबाट समातिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रदीपसँग सोधपुछपछि अन्य तीन जनालाई महेन्द्रनगरमा प्रहरीले पक्राउ गरेको हो । ‘अहिलेसम्मको सोधपुछमा उनीहरूको संलग्नताको धेरै आधार देखिन्छ,’ अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले भने, ‘तर प्राविधिक पक्ष केलाउन बाँकी छ ।’ चारै जनाको डिएनए परिक्षणको प्रक्रिया सुरु भइसकेको प्रहरी स्रोत बताउँछ ।

निर्मला प्रकरणले प्रहरी नेतृत्वमाथि कति धेरै दबाब बढाएको छ भने प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं सोधपुछमा खटिएका छन् । काठमाडौंमा पक्राउ परेका युवकमाथि सोधपुछ गर्न महानिरीक्षक खनाल आफैं सिआईबीमा पुगेको स्रोत बताउँछ ।
नयाँ पत्रिकाबाट

Logo