नवलपरासी

नवलपरासीमा बालक बलि दिएको घटना सेलाउन नपाउँदै फेरि अर्को अपत्यारिलो घटना सार्वजनिक भएको छ । "/>

अन्धविश्वासको जरो समाजमा : विद्यालयका प्रिन्सिपलको अगुवाइमा महिलाको बलि दिने प्रयास !

अन्धविश्वासको जरो समाजमा : विद्यालयका प्रिन्सिपलको अगुवाइमा महिलाको बलि दिने प्रयास !


नवलपरासी

नवलपरासीमा बालक बलि दिएको घटना सेलाउन नपाउँदै फेरि अर्को अपत्यारिलो घटना सार्वजनिक भएको छ । समाजमा अन्धविश्वास हटाउनु पर्ने विद्यालयका प्रिन्सिपलले स्थानीय एक महिलालाई बलि दिने प्रयास गरेको घटना बाहिर आएको हो । नवलपरासीको प्रतापपुर गाउँपालिका–३ अमुवामा रहेको न्यु गोल्डेन लाइफ इंग्लिस स्कुलका सञ्चालक तथा प्रिन्सिपल हरेन्द्र बडै शर्माले स्थानीय फूलमति मुसहरलाई बलि दिने प्रयास गरेका थिए । संयोगवश महिलाका आफन्तले थाहा पाएपछि बलि दिनबाट रोकिएको थियो ।

विद्यालय परिसर भित्रै चार फिट गहिरो, डेढ–डेढ फिट लम्बाइ तथा चौडाइको खाल्डो खनेर बलि दिए सो स्थानमा सुन पाइने भन्दै बलि दिन खोजिएको स्थानीयको भनार्इ रहेको छ ।प्रिन्सिपल शर्माले भने फूलमति बिरामी भएकाले उनलाई सञ्चो गराउने उद्देश्यले पूजा गर्न थालिएको दाबी गरेका छन् । स्रोतका अनुसार फूलमतिसँग लामो समय सम्म बोलचाल बन्द भएका प्रिन्सिपल हरेन्द्रले फूलमतिका देवर र नन्दको सहारामा ती महिलालाई उक्त स्थलमा राति १२ बजे लगेका थिए ।

शर्माले १८ जेठको शुक्रबार राति धामी बोलाएर स्कुलको प्राङ्गण अघि रहेको टहरोमा करिब चार फिट गहिरो खाल्डो खनेर विशेष पूजा गरेको र राति करिब १२ बजे विद्यालयसँगै जोडिएको घरमा रहेकी फूलमतिलाई उनकै देवर–देउरानी पञ्चराम मुसहर र चन्दा मुसहरलाई प्रयोग गरेर घरबाट लिएर आएको स्थानीयले बताएका छन् ।

विशेष पूजा गरिरहेको स्थानमा गहिरो खाल्डो र धारिलो हतियार तथा पूजाआजा चलिरहेको देखेपछि फूलमति भागेर एक स्थानीयको घरमा पुगेपछि घटना बाहिरिएको हो । स्थानीयले घटनाका बारेमा प्रहरीलाई खबर गरेपछि राति २ बजे इलाका प्रहरी कार्यालय समेमरीको टोली पुग्दा खाडल देखेको र पूजाआजा गरेको पाइएको प्रहरी नायब निरीक्षक झलक श्रेष्ठले बताए ।

स्थानीयका अनुसार हरेन्द्रले धामी कृष्ण प्याकुरेलको भनाइमा विश्वास गर्दै खाडल खनेको ठाउँमा मानव बलि दिए सोही ठाउँमा सुन पाइने आसमा विशेष पूजा लगाएर बलि दिन आँटेको बताइएको छ । स्वयं हरेन्द्रले भने आफ्नी श्रीमती लामो समयदेखि बिरामी भएको र अस्पतालमा उपचार गराउँदा सञ्चो नभएपछि आफू धामीको शरणमा परेको र धामीकै सल्लाह अनुसार विशेष पूजा गरेको तर बलि दिने आफ्नो नियत नभएको बताएका छन् ।

इलाका प्रहरी कार्यालय सेमरीले निवेदक र विपक्षीलाई बोलाएर स्थानीय भद्र भलादमीको रोहबरमा सहमति गराएको छ । आपसी झैझगडा नगर्ने र अब उपरान्त कुनै पनि विषयमा कुनै पनि निकायमा उजुरबाजुर गर्न नपाउने भनी सहमति जुटाइएको इलाका प्रहरी कार्यालय सेमरीका प्रहरी नायब निरीक्षक श्रेष्ठले बताए ।
राजधानीबाट

Logo