डान्स थेरापीवाट निरोगी कसरी हुने

डान्स थेरापीवाट निरोगी कसरी हुने


जसले नाच्न जान्यो त्यसले बाँच्न पनि जान्यो भनिन्छ । तपाई हामीहरु नृत्यलाई धेरै हेर्ने र कम गर्ने खालका छौं । नृत्यलाई जीवनकै एक भागको रुपमा राख्दा धेरै किसिमको फाइदा आफैंलाई हुने गर्छ ।

सामाजिक भेलामा यदी तपाईले आकर्षक नृत्य गर्नु भयो भने तपाई त्यहाँ एकाएक लोकप्रिय हुनुहुन्छ । यदी नृत्यलाई तपाईले नियमित गर्नु भयो भने तपाई निरोगी पनि बन्न सक्नुहुन्छ । हामी मनोरञ्जनका लागि मात्र नृत्य गर्ने हुनाले नृत्य मार्फत् पनि निरोगी हुन सक्छौं भन्ने कुरालाई कमै ख्याल गर्ने गर्छौ । हामीले आफुलाई फिट एण्ड फाइन बनाउन दैनिक रुपमा मर्निङ वाक, जिम, फिटनेस, योग, एरोबिक जस्ता कार्य गरिरहेका हुन्छौ । त्यसै अन्तर्गत नियमित रुपमा नृत्यलाई पनि समावेश गर्नु भयो भने हामीलाई डाक्टर कहाँ जाने झन्झटवाट धेरै हदसम्म मुक्ति समेत मिल्छ ।

पछिल्लो पटक निरोगी स्वास्थ चाहने ब्यक्तिहरुको संख्या बढी रहेको छ । नियमित रुपमा गरिने जिम, फिटनेस, एक्सरसाईज, मर्निङ वाक जस्ता कार्यमा रमाउन नसकेकाहरुलाई डान्स मुभमेन्ट थेरापी आएको छ । यो थेरापी अनुसार डान्सका विभिन्न मुभमेन्टहरु मार्फत् निरोगी हुने प्रयास गर्नु पनि हो । त्यसैले डान्सका पनि धेरै विधाहरु रहेको छ त्यही अनुसार आफुलाई मनपर्ने र शरीरलाई आवश्यक हुने डान्सको शैली अपनाउदा आफैंलाई मनोरञ्जन हुनुका साथै उक्त डान्सको तरिकावाट स्वास्थ लाभ पनि उठाउन सकिन्छ ।

बि बोईङ:
यो डान्सका स्टेपहरु मार्सल आर्ट खेलका केही स्टेपहरुसंग मेल खाने किसिमका रहेका छन् । यो वाहेक यसका स्टेपहरु अरु डान्सका केही स्टेपसंग पनि मेल खान्छ । यो डान्स गर्दा शरीरमा स्ट्रेन्थ र लचिलोपना आउछ । यो वाहेक कुम र खुट्टाको पनि पूर्ण रुपमा एक्सरसाईज हुन्छ । यो डान्सका स्टेपहरुले शरीरमा रहेको अनावश्यक बोसोको मात्रालाई घटाउन पनि मद्धत गर्छ । बि बोईङलाई सन् २०१३ सम्म चलेको एरोबिक्सको अर्को भर्जन पनि मानिन्छ ।

बलिविक डान्स:
यो डान्सको शैली पछिल्लो पटक आएको हो । यो डान्सको शैली बलिउडमा निर्माण हुने फिल्ममा अभिनेता र अभिनेत्रीले नाँचेको शैलीमा नाच्नु हो । यो डान्स हिन्दी फिल्मको गीतमा मात्र गरिन्छ । यो डान्स गर्दा शरीरमा लचिलोपन आउने गर्छ ।

हिपहप डान्स:
युवाहरु विच अत्याधिक लोकप्रिय रहेको हिपहप डान्सको फाइदा पनि धेरै नै रहेको छ । यो डान्समा पोपिङ, लकिङ, कपिङ, ब्रेकिङ जस्ता स्टेपहरु रहेका छन् । यो स्टेपलाई ५ मिनेट लगातार गर्दा शरीरमा रहेका धेरै किसिमका तनावहरुवाट मुक्ति पाईन्छ ।

बैली डान्स:
यो डान्समा पेटलाई र कम्मरलाई अलग अलग तरिकाले हल्लाईन्छ । यो डान्समा अगाडीको भाग पनि धेरै नै पटक झु्काईने हुनाले यो डान्स गर्दा धेरै नै वर्कआउट हुन्छ । यो डान्स ५देखि ७ मिनेट गर्दा शरीरलाई धेरै नै कसरत हुन्छ ।

साल्सा वा बलरुम डान्स:
यो डान्स गर्दा शरीरले धेरै नै स्ट्रेचिङ हुने अवसर पाउछ । जोडीको रुपमा नाच्दा दुबैलाई धेरै नै फाइदा हुनेगर्छ ।

कन्टेम्प्रोरी डान्स:
यो डान्स गर्ने धेरै किसिमका शैलीहरु रहेका छन् । यस्का स्टेपहरु गर्न बिशेष रुपमा ध्यान दिनु पर्ने हुनाले यो डान्सले गर्ने ब्यक्तिको एकाग्रतालाई बढाउछ । यो डान्स गर्न धेरै नै शक्ति खर्च गर्नु पर्ने हुन्छ भने यो डान्सले अनुशासनमा पनि राख्न मद्धत गर्छ ।

क्लासिक डान्स:
यो डान्समा आफ्नै देशको मौलिकता बढी झल्किन्छ । यस्ता किसिमका डान्स गर्ने ब्यक्तिले मुहारको आकृतिलाई पनि विभिन्न शैलीमा रुपान्तर गर्नु पर्छ । यो डान्स गर्ने ब्यक्तिलाई तत्काल निर्णय गर्ने क्षमता मिल्नुका साथै शरीरका सबै भागहरुको कसरत पनि भैरहेको हुन्छ ।

Skip This
Logo