नेपाल संवतकाे महत्व र नेपालमा प्रचलनमा ल्याइएका संवतहरू

नेपाल संवतकाे महत्व र नेपालमा प्रचलनमा ल्याइएका संवतहरू


काठमाडौं ।

नेपाली इतिहासले नेपालमा चारवटा संवत् प्रचलनमा आएको देखाएको छ। शक संवत्, मानदेव संवत्, नेपाल संवत् र विक्रम संवत्। यी चारमध्ये नेपाल संवत् सबैभन्दा चलेको संवत् हो। नेपाल संवत् १ देखि ८८८ सम्म गरी ८८८ वर्ष र विक्रम संवत् चन्द्र शमशेरको पालादेखि हालसम्म गरी १ सय १७ वर्ष जति प्रचलनमा आइसकेको छ।

सबैभन्दा पहिले प्रचलनमा ल्याइएको देखिएको शक संवत् लिच्छवीकालको शुरूमा र पछि पृथ्वीनारायण शाहले पुनः लागू गरेको देखिन्छ। यो संवत् पहिले २०० देखि ५२६ सम्म र पछि १६९० देखि १८२५ सम्म गरी ५ सय वर्ष जति प्रयोगमा रहेको इतिहासविद् बताउँछन्। मानदेव संवत् ३ सय ४ वर्ष चलाइएको पाइन्छ। नेपालको इतिहास हेर्दा ९० प्रतिशत बढी अभिलेख नेपाल संवतमा लेखिएको पाइन्छ।

नेपालको प्रारम्भिक इतिहास अत्यन्त अस्पष्ट र अनुमान तथा किंवदन्तीले भरिएको छ। किरात कालमा नेपालमा कुन संवत् प्रचलनमा थियो भन्ने कुरा हालसम्म थाहा हुन सकेको छैन । शक संवत् भारतका शकवंशीय शासकको नामबाट चलाइएको संवत् हो जुन आज पनि भारतमा राष्ट्रिय संवत्को रूपमा प्रचलनमा छ। हाल शक संवत् १९४२ हो।

महासामन्त अंशुवर्माले राजा मानदेव द्वितीयको नाममा मानदेव संवत् चलाए भने राजा राघवदेवको पालामा नेपाल संवत् चलाइयो। नेपाल संवत् ८८८ मा नेपालमाथि विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले शक संवत् र नेपाल संवत्लाई पुनः प्रचलनमा ल्याए। त्यसपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले भारतीय उपमहाद्वीपका एकजना रजौटा विक्रमादित्यको नाममा चलाइएको दाबी गरिएको विक्रम संवत् प्रचलनमा ल्याए जुन आजसम्म कायमै छ।

नेपाल संवत् यहाँ तत्कालीन समयमा प्रचलित भएको शक संवत् वा हाल प्रचलित विक्रम संवत् जस्तै बाहिरबाट आयातित विदेशी संवत् होइन। यस संवतकाे प्रचलनलाई रोकिएको पनि छैन। शक संवत् ४९८ सकिनासाथ मानदेव संवत् शुरू भयो तथा उक्त संवत् सार्वजनिक प्रचलनमा आएन। माथि उल्लेख भए जस्तै नेपालमा हाल र पहिले प्रचलित सबै संवत् मध्ये मानदेव संवत् र नेपाल संवत् मात्र स्वदेशी संवत् हुन्। मानदेव संवत् ई. ५६६ साल वि.सं ६३३, शक संवत् ८०२) सालमा रोकियो । यसको स्थान नेपाल संवतले लियो र त्यस बेलादेखि हालसम्म एक स्वदेशी संवतकाे रूपमा नेपाली इतिहासमा यसको विशेष भूमिका रहेको छ।

चीनमा नेपाल संवत्
यो संवतले छिमेकी देश चीनमा पनि मान्यता पाएको थियो। इतिहासविद् धनवज्र जोशीका अनुसार चीनको मिङवंशी वादशाह पनि नेपालको काभ्रेतिरका सामन्त राजा शक्तिसिंह राव बच्चनलाई लेखेको परवाना पत्रको सकल परराष्ट्र मन्त्रालयमा सुरक्षित छ। रञ्जना लिपी संस्कृत भाषामा लेखिएको उक्त पत्रमा नेपाल संवत् ५३५ अङ्कित छ, जुन रञ्जना लिपीसहित नेपाल संवतकाे पनि प्रचलन केहीरूपमा चीनमा भएको पुष्टि हुन्छ।

प्रताप सिंह शाहको पालामा तिब्बतसँगको सन्धिमा नेपाल संवत् र नेपाल भाषा प्रयोग गरिएको पाइन्छ। त्यस्तै, अन्य सन्धि सम्झौतामा पनि नेपाल संवत् प्रयोग भएको पाइन्छ।

नेपाल संवतकाे परिचय

नेपाल संवत् चन्द्रमासमा आधारित संवत् हो। मोटामोटीरूपमा चन्द्र वर्ष ३ सय ५४ दिनको हुन्छ र प्रत्येक ३ वर्षमा अधिमास हुन्छ। नेपाल संवत् अनुसार पनि १ वर्षको १२ महिना हुन्छ। तर, हरेक तेस्रो वर्षमा १ वर्षको १३ महिना हुन्छ। नेपाल संवत् अनुसारका महिना निम्नानुसार छन्

१. कछला २. थिङ्ला ३. पोहेला ४. सिल्ला ५. चिल्ला ६. चौला ७. बछला ८. तछला ९. दिल्ला १०. गुँला ११. ञँला १२. कौला । उपर्युक्त १२ महिनाका अतिरिक्त प्रत्येक ३ वर्षमा आउने अधिमासलाई ‘अनाला’ (मनमास) भनिन्छ।

नेपाल संवतका महिनालाई शुक्लपक्ष र कृष्णपक्षअनुसार दुई भागमा विभाजन गरिन्छ। शुक्ल पक्षलाई बुझाउन महिनाको अन्त्यमा ‘थ्व’ जोडिन्छ। जस्तैः कछलाथ्व, थिँलाथ्व, पोहेलाथ्व, सिलाथ्व इत्यादि। त्यस्तै, कृष्ण पक्षलाई बुझाउन महिनाको अन्त्यमा ‘गाः’ जोडिन्छ। जस्तैः चिंल्लागाः, चौलागाः, वछलागाः, अनालागाः इत्यादि।नेपाल समाचारपत्रबाट

Skip This
Logo