योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले

योजना आयोगको उपाध्यक्षमा डा. स्वर्णिम वाग्ले


काठमाडौँ, १९ साउन । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णिम वाग्लेलाई नियुक्त गरेको छ । 

केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा वाग्ले यसअघि दुई पटक आयोगको सदस्य हुनुभएको थियो । 

सार्वजनिक वित्त, अन्तर्राष्ट्रिय व्यापार क्षेत्रका विज्ञ वाग्ले यसअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकार तथा प्रचन्ड सरकारका पालामा योजना आयोगका सदस्य हुनुहुन्थ्यो । 

अष्ट्रेलियाको अष्ट्रेलियन नेशनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएका वाग्लेले अमेरिकाको हार्भड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातक गर्नु भएको छ । 

उहाँले विश्व बैकको मुख्यालय वासिङ्टन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गर्नुभएकाे थियो । राष्ट्रसंघीय विकास कार्यक्रममा नीति विश्लेशकको रुपमा काम गरेको अनुभव पनि उहाँसँग छ । 

मन्त्रिपरिषद् बैठकले पाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जना बढुवा गर्ने निर्णय समेत गरेकाे बैठकपछि सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । 

बढुवा हुुनुभएकामा प्रहरी नायब महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई हुनुहुन्छ । 

बैठकले अमेरिकी सरकारी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’बाट सडक यातायात र विद्युत् प्रशारणसम्बन्धी कार्यका लागि प्राप्त हुने रु ५१ अर्ब ३८ करोड सहायता रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ । 

मन्त्री बस्नेतले सो रकमबाट पाँच वर्षभित्र त्यस क्षेत्रमा सुधारको काम सम्पन्न गर्नुपर्ने बताउनु भयो । रासस

Logo