‘जनताले सरकारलाई ५ वर्ष काम गर्ने म्याण्डेड दिए पनि प्रचण्ड–माधवले काम गर्न दिएनन्’ : प्रधानमन्त्री

‘जनताले सरकारलाई ५ वर्ष काम गर्ने म्याण्डेड दिए पनि प्रचण्ड–माधवले काम गर्न दिएनन्’ : प्रधानमन्त्री


प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अशान्ति र हिंसाको भूँमरीमा जान नदिने प्रतिवद्धता जनाएका छन् ।  

शुक्रबार बागमती प्रदेश कमिटीले काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा फेरि कसैले अशान्ति र हिंसा मच्चाउन नसक्ने बताएका हुन् ।

उनले प्रचण्ड–माधव समूहले नरभक्षी आन्दोलन गर्न खोजेको भन्दै सरकारले त्यसो हुन नदिने बताए। तथाकथित नेपाल बन्द गरेर श्रमजीवीका लागि काम गर्ने भन्नेहरुले तरकारी छरेर, गाडी जलाएर क्रान्ति गर्न खोजेको भन्दै प्रधानमन्त्री ओलीले प्रचण्ड-माधव समूहलाई व्यंग्य गरे ।

प्रधानमन्त्री ओलीले आफूलाई काम गर्न नदिएपछि ताजा जनादेशमा गएको दाबी गरे । जनताले सरकारलाई ५ वर्ष काम गर्ने म्याण्डेड दिएको भएपनि प्रचण्ड–माधव समूहले व्यवधान गरेकाले संसद विघटन गरि ताजा जनादेशमा गएको उनले स्पष्ट पारे ।

प्रधानमन्त्रीले संसदीय प्रणालीमा प्रधानमन्त्रीले काम गर्न नदिने अवस्था आयो भने संसद विघटन गर्न सक्ने भन्दै संसद विघटन गर्ने निर्णयको बचाउ गरे । बेलायतको उदाहरण दिंदै उनले काम गर्न नदिएपछि प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जान सक्ने जिकिर गरे । संसद विघटन गर्न सक्ने प्रधानमन्त्रीमा निहित अधिकारमा प्रचण्ड माधव समूहले बलजफ्ति बहस चलाएर प्रतिगमन भनेको टिप्पणी पनि उनले गरे।

प्रचण्ड माधव समूहले संवैधानिक नियुक्तिमा अवरोध गरेको दाबी पनि प्रधानमन्त्रीले गरे । उनले लोकतन्त्रलाई ठिक ढंगले चल्न नदिनेहरु गएपछि सबै कुरा ठिक भएको भन्दै अब मुलुक स्थिरता तर्फ उन्मुख भएको बताए। उनले कार्यकर्तामाझ चुनावी नारा पनि लगाए।

सभामा ‘राजतन्त्र फर्किएको घोषण गर्छ’ भन्दै हल्ला फैलाउने काम भएको भन्दै प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई कसैले तलमाथि गर्न नसक्ने बताए ।

प्रधानमन्त्री ओलीले मुलुभरको कालोपत्रे सडक, चाँदनी दोधारा सिंचाई, डुबान नियन्त्रण, हुलाकी राजमार्ग, पूर्वपश्चिम रेल लगायत क्षेत्रमा सरकारले उच्च महत्वका साथ काम गरेको भन्दै फेयरिस्त नै प्रस्तुत गरे । उनले कोभिड विरुद्ध खोप अभियान चलेको उल्लेख गर्दै कोभिड अन्त्य नहुने समयसम्म खोप अभियान सञ्चालन गरिराख्ने जानकारी दिए ।

Logo