‘देशको अवस्था देखेर दुःख लाग्छ, सोचे जस्तो पनि नहुँदाे रहेछ’ : प्रधानमन्त्री पत्नी शाक्य

‘देशको अवस्था देखेर दुःख लाग्छ, सोचे जस्तो पनि नहुँदाे रहेछ’ : प्रधानमन्त्री पत्नी शाक्य


प्रधानमन्त्री केपी शर्मा ओली पत्नी तथा प्रथम महिला राधिका शाक्य जो, सञ्चारकर्मीसँग कुरा गर्न खासै रुचि राख्दिनन् । ‘पत्रकारसँग कुरा गर्न त कस्तो अप्ठ्यारो लाग्छ ।’ छोटो अन्तर्वार्ता गरौं न म्याडम भन्ने हाम्रो आग्रहमा प्रधानमन्त्री पत्नी शाक्यको सङ्कोच थियो ।  

काठमाडौं स्थित महाराजगञ्जमा रहेको नेपाल पुलिस अस्पतालको परिसर । घुन्सा फाउण्डेसनद्वारा आयोजित रक्तदान कार्यक्रम र कार्यक्रममा रक्तदान गर्नेहरूलाई सम्मानस्वरूप प्रमाण–पत्र दिइसकेर कुर्सीमा आराम गर्दै गरेकी शाक्य अन्तर्वार्ताका लागि तयार थिइनन् ।  

‘राजनीतिक कुरा चाहीं नगरौं है’ भन्दै उनले हाम्रो आग्रहलाई अस्वीकार पनि गर्न सकिनन् ।  

०००

झण्डै दुई वर्ष यता, शाक्य मानव सेवा आश्रमकी संरक्षकका रूपमा काम गर्दै आएकी छिन् । त्यसैले पनि हुनुपर्छ सामाजिक कामहरूमा उनको सक्रियता केही बाक्लिँदो छ ।

उनलाई लाग्छ, सबै भन्दा ठूलो पून्य भनेकै मानव सेवा हो । राधिकाको मन पनि उस्तै कमलो छ । कोही कसैका दुःख र पीडामा उनी यसै भावुक भइदिन्छिन् । आज श्रीमान् प्रधानमन्त्री भएर मात्र होइन धेरै अघि पनि काठमाडौंका गल्लिमा भेटिने र देखिने दुःखी गरिवहरूको वेदनाले उनलाई भावुक बनाउँथ्यो ।  

‘बाटोमा हिड्दै गर्दा होस् या कहिँ कतै जाँदै गर्दा, दुःखी र गरिवका पीडा मेरा लागि भारी हुन्छन्’ सानै देखिको स्वभाव रे उनको, सुनाउँछिन् ‘ऊ बेला मैले सडकमा देखिने दुःखीहरूका लागि एक कप चिया खान सकोस् अथवा, एक छाक भात खान सकोस् भनेर खल्तिमा भएको ५ /१० रुपैयाँ दिएर हिड्थेँ,’ भन्छिन्, ‘ऊ बेला मैले गर्न सक्ने केहि थिएन, त्यसैले त्यतिमै चित्त बुझाएर बसेँ ।’

हिजो सम्झेर केही दुःखी भएकी शाक्य, हाल आएर मानव सेवा आश्रमसँग जोडिएकोमा खुसी छिन् । आश्रमसँग जोडिएको किस्सा खरर सुनाउँछिन् । ‘करिब २ वर्ष हुन लाग्यो । एक पटक मैले पत्रिकामा मानव सेवा आश्रम, नेपाल प्रहरी लगायत मिलेर सडकमा दयनिय जीवन बिताइरहेका मानिसहरूलाई आश्रममा राखेर सेवा गरिरहेको खवर पढ्न पाएँ ।’  

त्यो समाचारले शाक्यको मनमा सेवा गर्ने संस्थाका बारेमा जिज्ञासा चुलियो । हुन त शाक्य त्यसअघि पनि केही सामाजिक सेवामा खटिएका संस्थाहरूसँग परिचित नै थिइन् । दिलसोभा श्रेष्ठको ‘आमा घर’ होस या एचआइभी संक्रमित केटाकेटी पालन पोषण गरिरहेको संस्था ‘बेबी लाइफ होम ।’ त्यहाँ उनको छुट्टै एट्याच्मेन्ट थियो ।

तर, मानव सेवा आश्रमको कामले उनी प्रभावित भइन् र संस्थाको खोजिमा निस्किइन् । ‘मलाई मानव सेवा आश्रमका बारेमा खुबै जान्न मन लाग्यो, खोज्दै गएँ । सामाखुसीमा रहेछ । स्वयं पुगेर त्यहाँको रिसेप्सनमा संस्थाको बारेमा सोधपुछ गरें । त्यही समय मैले उक्त संस्थालाई व्यक्तिगत २५ हजार सहयोग पनि गरेँ ।’  

संस्थाले गरेका काम र दुःखीहरूका लागि सानो सहयोग गर्न पाउँदा उनी दंग थिइन् । सोही दिन उनी घर पुग्दा नपुग्दै संस्थाका महासचिव सुमन गर्तौला ज्यूले फोन गरेछन् । शाक्य सुनाउँछिन्, ‘महासचिव, गर्तौलाको फोन आयो, प्रधानमन्त्री ज्यूलाई नै भेट्ने चाहाना राख्नु भएको रहेछ । मैले पनि चासोका साथ बोलाएर संस्थाका बारेमा थप बुझ्न पाएँ ।’

हेटौंडामा केन्द्रीय कार्यालय रहि २०६९ सालबाट सेवारत उक्त संस्थासँग सोहि दिनदेखि शाक्य नियमित सम्पर्कमा रहिन् । सेवारत संस्थासँग जोडिन पाएको त्यो दिन सम्झँदेै शाक्य सुनाउँछिन्, ‘त्यसदेखि केही व्यक्तिगत त केही सरकारका तर्फबाट सानो तिनो सहयोग गर्दै आइरहेकी छु ।’

०००

प्रधानमन्त्री केपी शर्मा ओली सरकार ‘सडक मानव मुक्त शहर’ र ‘समृद्ध नेपाल सुखी नेपाली’ को लक्ष्य लिएर अघि बढिरहँदा कतै यही अभियानमा शाक्यको मानव सेवा आश्रमसँगै सहकार्य पनि जोडिएको त छैन ? शाक्यका अगाडि ठडिएको एउटा प्रश्न हो यो । तर, उनी यो प्रश्नको पक्षमा छैनन् ।

‘समाज सेवामा मेरो संलग्नता मुलतः व्यक्तिगत अनि स्वविवेक नै हो ।’ यद्यपि देशको प्रधानमन्त्रीको लक्ष्य अनि नेपाली समाजका लागि देखेको एउटा सपना पूरा गर्न शाक्य, आफ्नो पूर्ण साथ र समर्थन रहेको प्रमाणित गर्न पनि चाहन्छिन् ।

‘समाज सेवा उहाँ (प्रधानमन्त्री)को आकांक्षासँग जोडिएको छ । उहाँले जहाँ पनि आफ्ना भाषणमा ‘समृद्ध नेपाल सुखी नेपाली’को उच्च आकांक्षा देखाइराख्नु भएको छ ।’ देश प्रतिको जिम्मेवारी बोध छ शाक्यमा, ‘म फेरि पनि दोहोर्याउँछु कि, भन्न सहज भएपनि व्यवहारमा यसलाई उतार्न गाह्रो छ । नेपालबाट गरिबी हटोस् । नेपालीहरू सुखी हुन् भन्ने उहाँको चाहाना हो, तर, चाहाना राख्दैमा आजको भोलि नै त्यो काम पूर्ण गर्न त सक्दैनौं,’ सरकारप्रति असन्तुष्टि देखाउनेहरूप्रति लक्षीत गर्दै शाक्य सिद्धान्त र व्यवहारमा तात्विक भिन्नता प्रष्ट्याउन चाहन्छिन्, – ‘यो गरिबी आज मात्र भएको होइन । समस्या धेरै छन् । हामी आजको भोलि नै नेपालीलाई सुखी बनाउँन चाहान्छौं तर, हाम्रो स्रोत साधन सबैमा विचार पुर्याउनै पर्यो ।’

प्रधानमन्त्री पत्नी राधिका शाक्य

०००

‘मैले राजनीतिक कुरा गर्दिन भनिरहँदा पनि राजनीति जोडिदो रहेछ,’ राजनीतिक कुराकानीसँग हच्किएकी शाक्य प्रसंगबस राजनीतिभन्दा टाढा रहन सकिनन् । बहुदलिय शासन व्यवस्था रहेको देश, त्यसमाथि बहुमत प्राप्त दलका अध्यक्ष तथा देशकै प्रधानमन्त्रीकी पत्नी भएर पनि शाक्यमा नेपाली राजनीतिप्रतिको वितृष्णा प्रष्ट देखिन्छ ।  

राजनीतिक बदलाव अनि अस्थिर सरकारको संरचनाप्रति उनी सन्तुष्ट पटक्कै छैनन् । उनलाई लाग्छ, ,‘देशमा जसरी छोटो छोटो समयमा सरकार विघटन र गठन भइरहने परिपाटी छ, यसले देशमा सबै मेकानिजम भएर पनि काम गर्न दिएको छैन, इच्छा भएर पनि गर्न पाइरहेको छैन ।’

सेवारत कर्मचारीहरूप्रति पनि शाक्य सशंकित नै छिन्, ‘मानिसहरूलाई जागिर खाएपछि जागिर पकाउने न हो भन्ने छ तर, त्यसो नभएर मनदेखि काममा लाग्नु पर्छ । राजनीतिक होस् या समाजसेवा वा अरू केहि । त्यहाँ मनदेखि लागिएन भने त्यो पूर्ण हुँदैन ।’ उनलाई लाग्छ ‘जब मनैदेखि यो काम गर्छु भनेर अठोट हुन्छ, त्यसले क्रमशः सफलताको पथमा पुर्याएरै छाड्छ ।’ व्यक्तिगत रूचिसँगै राष्ट्रको सपना र राष्ट्रको आह्वान भएर पनि आफू समाज सेवामा लाग्न जागरूक भएको स्वयं शाक्यको बुझाई छ ।

उनलाई थाहा छ, कि उनी सरकारमा छिन्, पावरमा छिन् अथवा, समाजले उनको आवाज सुन्न सक्छ, त्यसैले अहिले केही धेरै गर्नु पर्ने जिम्मेवार बोध छ उनलाई । भन्छिन्, ‘म खास ठाउँमा छु, जिम्मेवार पूर्ण स्थानमा छु । मेरो धेरैसँग भेटघाट छ, चिना परिचय पनि छ र, समाज सेवाका क्षेत्रमा हात हालिरहँदा मैले आज धेरै काम गर्नुछ ।’ उनी यो पनि संकल्प गर्छिन् कि, ‘मैले यो स्थानमा रहँदा केही बढी र बाँचुञ्जेल निरन्तररूपमा गर्नै पर्छ ।’

०००

नेपाली समाज र राजनीतिक अवस्थाले उनलाई बेला बेला दिक्क लाग्छ रे तर, दिक्क लाग्यो भनेर असन्तुष्टि व्यक्त गरेर मात्र पनि नहुने उनको बुझाई छ । आम जनता जो, जहाँ छन् जसले जे गर्न सकिन्छ गर्दै जानु पर्ने शाक्यको सुझाव छ । सुझाव दिइरहँदा उनी केही सशंकित पनि छन् कि, मानिसहरूले ऊ त प्रधानमन्त्रीको श्रीमती, के छ र उसलाई ! भनेर औंला उठाउने त होइनन् ? तर, बाध्यात्मक परिस्थिति नि उतिबेलै ओकल्छिन्– ‘म मेरो ठाउँमा धेरैं नै व्यस्त छु । जे जति गर्नु पर्ने हो त्यो गर्न सकिरहेको अवस्था छैन ।’  

उनी अहंभावका साथ बोल्छिन्– ‘हो, नगर्नेहरूका तुलनामा हामीले धेरै गरेका छौं, कतिपयले मलाई घमण्ड गर्यो भन्लान तर, यो सत्यै हो, रियालिटी नै हो, तर म स्वीकार्छु कि, जति गर्नु पर्ने हो त्यो गर्न सकेका छैनौं, शाक्य उतिबेलै वास्तविकताको धरातलमा फर्किन्छिन् ।

३३ वर्ष लामो समय राष्ट्रबैंकमा जागिरे जीवन बिताएकी प्रधानमन्त्री पत्नी शाक्यलाई देशको सामाजिक, सांस्कृतिक मात्र नभएर आर्थिक क्षेत्रको पनि राम्रो ज्ञान छ । तर उनले त्यो समय बैंकमा जागिर  खाएर मात्र विताइनन् । त्यसबीचमा गतिविधिको फेहरिस्त पल्टाउँछिन् उनी ।  

‘मैले ३३ वर्ष जागिर मात्र खाइँन । २०४४ सालमा विवाह गरेँ । त्यस यता जागिर त खानै थियो, सँगै राजनीति नगरे पनि राजनीतिक कार्यकर्ताहरूलाई सहयोग गर्नै पर्ने थियो, उहाँ स्वयं (प्रधानमन्त्री ओली) लाई पूर्णरूपमा सेवा गर्नै पर्ने थियो ।’ श्रीमानको शारीरिक अवस्थाले पनि शाक्यलाई केही व्यस्त बनायो । कारण, १४ वर्षे जेल जीवन बिताएर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था जिर्ण थियो । मानसिकरूपमा सक्रिय रहेपनि शारीरिक अवस्था उनको दयनिय थियो । 

भिडियाे अन्तर्वार्ताका लागि क्लीक गर्नुहाेस् 

शाक्यलाई लाग्छ देशको सेवासँगसँगै पारिवारिक जिम्मेवारीपनले पनि उनी कहिल्यै फुर्सद भइनन् । सुनाउँछिन्–‘उहाँ अशक्त जस्तै हुनु हुन्थ्यो । उहाँलाई मेरो ठूलै सहयोगको आवश्यकता थियो । त्यसैले जहाँसम्म लाग्छ आजसम्म आइपुग्दा हामीले कुनै पनि समय खेर फालेका छैनौं । जे जति समय बित्यो सदुपयोग मै बित्यो । व्यस्ततामै यहाँसम्मको यात्रा तय भयो ।’

०००

नेपाली समाज अनि यहाँको अवस्था नजिकसँग चिहाइरहेकी छन् उनी । आजको  नेपाली समाजको अवस्था बेहाल लाग्छ उनलाई । उनी स्मृतिमा फर्कन्छिन्,– ‘केही दिन अघि मात्रै हो, ‘झझल्को’ नामक पुस्तक विमोचनमा सहभागि हुने अवसर पाएकी थिएँ । जहाँ, द्वन्द्वपीडितहरू कसैको हात छैन, कसैको खुट्टा छैन, कसैको के छैन । लाग्छ उनीहरू युवा नै हुन् तर, उनीहरू दयनीय अवस्थामा जीवन विताइ रहेका छन् ।’ ती दृष्यले उनलाई बेचैन बनायो । ‘ती दृष्यले मेरो दिन सुख र चयनमा कटेन । प्रेसर बढे जस्तो, अनिन्द्र पर्ने, अझ भनौं बेचैनीमै दिन बित्यो ।’  

प्रसंग बदल्छिन् र करुणिक भाव ओकल्छिन्, ‘तपाईंहरू सबैले ‘बाल संगठन’ भन्ने संस्था त सुन्नु भएकै होला । त्यो संगठनमा ३÷४ महिना अघि गएकी थिएँ । त्यहाँको समस्या देख्दा लाग्थ्यो कि, समाधान हुने भए, त्यहीँ क्वाँ–क्वाँ रोइदिउँ ।’ कारुणिकतालाई चिरेर उनी सामान्य बन्ने प्रयास गर्छिन्,–‘तर रोएर त समस्या समाधान हुँदैन ।’

राजनीतिक स्थायित्व होस्, स्थायी सरकार होस् अनि सबैको साथ र सहयोगमा देश समृद्ध बनाउन पाइयोस् । जुन, नारा प्रधानमन्त्रीले लगाई रहन्छन् । यही आधार लाइनमा रहेर शाक्य भन्छिन्,‘कुनै पनि कुरा एकदुई जनाको इच्छा र चाहानाले मात्र पूरा हुँदैन रहेछ ।’ उनी केही आक्रोशित भावमा सरकारको विपक्षमा नारा लगाउनेहरूका लागि थप्छिन्, ‘आज केही केही मान्छेहरू आफ्नो–आफ्नो पार्टीको डम्फू बजाउँछन् । यहाँ यसो गरेँ, उहाँ उसो गरेँ अथवा, यहाँ त्यहाँ भनेर । तर, लाग्छ, ती डम्फू बजाउने मान्छेहरू मेरो अगाडि आएर कुरा गरुन् न, अनि म जवाफ दिन्छु कि कसले के गरेको छ भनेर ।’

०००

काठमाडौं उपत्यका शहर, त्यसमा पनि पाटनको गल्लिमा जन्मिएकी शाक्य शहर र गाउँ दुवैसँग समिप्यता राख्छिन् । आफूले गाउँका समस्यालाई बुझेको दावी गछिन् । ‘हुन त म ललितपुरको पाटनमा जन्मिएकी हुँ । तर, मैले नेपालको दुःख बुझ्या छु, चिन्या छु । केही समयअघि  ताप्लेजुङको घुन्सा पुगेकी थिएँ, संखुवासभाको किमाथांकादेखि लिएर जुम्ला, मुगुका धेरै गाउँहरूसम्म पुगेकी छु । सम्पूर्ण त म भन्दिन तर, मैले धेरै बुझ्या छु, चिन्या छु ।’ उनी नेपालीको मनसँग नजिक भएको विश्वस्त पार्न चाहन्छिन् । समस्या बुझेर पनि सत्तामोहको खिचातानितर्फ लागेको राजनीति केन्द्रीत हुँदै शाक्य थप्छिन्, ‘हो, दुःख लाग्छ, तर, दुःख मानेर मात्र पनि नहुँदो रहेछ ।’  

प्रधानमन्त्री पत्नी राधिका शाक्य

०००

उनले गाउँदेखि शहरका जनताको दुःख बुझेकी छन् भने, के यी दुःख र सुखका कुरा आफ्ना पति (प्रधानमन्त्री) सँग साट्न उनी उद्यत छिन् त ? यो प्रश्न साझा बन्न सक्छ । तर, अपसोच राधिका शाक्यले बुझेको दुःख पति केपी शर्मा ओलीलाई सन्ने उती फुर्सद छैन ।  

‘दुःखका साथ भन्नु पर्छ उहाँसँग (प्रधानमन्त्रीसँग) समसामयिक विषयमा भलाकुसारी गर्ने समय नै मिल्दैन, उहाँ यति व्यस्त हुनुहुन्छ कि, करिब रातको बाह्र÷साढे बाह्र बजे कोठामा आइपुग्नु हुन्छ । दिनभरिको थकाई, समस्या नै समस्याको राजनीति, थकित भएर आएको मानिससँग फेरि म कसरी लिउँ समय ? उनी पंक्तिकारतर्फ प्रति प्रश्न तेर्साउँछिन्  र फेरि भन्छिन्, ‘ उहाँको थकित समयलाई लिएर गफ गर्न मलाई उचित लाग्दैन । त्यही भएर कतिपय गर्नु पर्ने कराहरू पनि म गर्दिन ।’ यद्यपि प्रधानमन्त्री ओली र पत्नी शाक्यबीच प्रसंगबस हुने भलाकुसारीले भने स्थान पाउने रहेछन् । केही हँसिलो मुद्रामा भन्छिन्, ‘विषय छुट्याएरै भलाकुसारी गर्न नपाएपनि प्रसंगबस हुने छलफल चल्छन् नै ।’

उनले गाउँदेखि शहरका जनताको दुःख बुझेकी छन् भने, के यी दुःख र सुखका कुरा आफ्ना पति (प्रधानमन्त्री) सँग साट्न उनी उद्यत छिन् त ? यो प्रश्न साझा बन्न सक्छ । तर, अपसोच राधिका शाक्यले बुझेको दुःख पति केपी शर्मा ओलीलाई सन्ने उती फुर्सद छैन ।  

०००

भनिन्छ, पहिलो सल्लाहकार पति वा पत्नी हुन्छन् भनेर । तर, प्रधानमन्त्री पत्नी शाक्य पति माथि कुनै पनि विषय हावी हुने गरि प्रेषित गर्न रुचाउँदिनन् । कुनै सल्लाह दिएर प्रधानमन्त्रीलाई निर्देशित गर्न इच्छाउँदिनन् । ‘सल्लाहकार भएर उहाँलाई निर्देशित गर्ने वा, मैले भनेको गर्नै पर्छ भन्ने मलाई लाग्दैन र म गर्दिन पनि ।’ यद्यपि व्यक्तिगत स्वतन्त्रता र समाजको योगदानका लागि भने कुनै सम्झौता गर्न नचुकाउने उनको तर्क छ । ‘उहाँ आफ्नो ठाउँमा फ्रि हुनुहुन्छ  र म आफ्नो ठाउँमा फ्रि छु । अब, मैले पनि सकेको यही समाजका लागि गर्ने हो र उहाँले पनि ।’ यद्यपि आफूले कुनै सल्लाह र निर्देशन नदिए पनि प्रधानमन्त्री ओली देशकै लागि लडिरहेको विश्वास दिलाउन चाहन्छिन् उनी,–‘देशको राजनीति र देशको अवस्था राम्रो बनाउन भनेर आजसम्म पनि उहाँ लागिराख्नु भएकै छ ।’  

०००

प्रहरी अस्पतालको परिसरमा बसेर कुरा गरिरहँदा, सोही स्थान र प्रहरीकै प्रसंग खोतल्दै शाक्य भन्छिन्, ‘प्रहरीसँगको मेरो सम्बन्ध ०५१ सालदेखि आजसम्म निरन्तर छ । मलाई लाग्छ एउटा पब्लिकको नाताले प्रहरी संगठन र त्यहाँ कार्यरत प्रहरी जवान, अधिकृत वा कर्मचारीहरूको दुःख कष्ट, व्यक्तिगतरूपमा भन्दा मैले जति बुझेको नेपालमा कोही पनि हुनुहुन्न होला । म यो ठोकेरै भन्न सक्छु ।’ सरकारप्रति युवाको आशा र देशको भविष्य विषयमा शाक्य केही गफिन थालिन् । ‘मैले उहाँहरूलाई के कति गर्न सकें त्यो आफ्नै ठाउँमा होला । उहाँहरूको दुःख पीडा म महशुस गर्न सक्छु ।’

शाक्यले घुन्सा फाउण्डेसनले गरेको रक्तदान कार्यक्रम र आयोजकका तर्फबाट फाउण्डेसनकी अध्यक्ष याङजुङ शेर्पा, व्यवस्थापनमा खटिएको प्रहरी अस्पताल र अस्पतालकी प्रमुख तथा एआइजिपी डा.आशा सिंहसहित सम्पूर्णमा एकसाथ धन्यवाद ज्ञापन गरिन् । देश विकासमा यस्तै युवाको जोश जाँगर र सक्रिता नै देश विकासको आधार भएकाले आम नेपाली युवामाझ देश विकासको अभिभारा रहको भन्दै जो जसले जसरी सक्छ उसैगरि काम गरे देश बन्न सक्ने विश्वास पनि व्यक्त गरिन् ।

‘युवाहरू निश्क्रिय रहने हो भने भोलिका लागि ठूलो पीर हुन्थ्यो । देशको चिन्ता हुन्थ्यो तर, आज धेरै युवाहरू आ–आफ्नो क्षेत्रमा रहेर काम गरिरहेको देख्दा, भोलि पनि हाम्रो देश स्वाधिन रहने छ । देशको विकाशमा आम, तमाम युवाहरू लाग्नु हुनेछ र देश विकास हुने छ ।’ उनले युवा जागरुक हुनु पर्ने तर्क अघि सार्दै नकारात्मक पक्षलाई ओझेलमा राख्न आग्रह पनि गरिन् । ‘सम्पूर्ण युवाहरूलाई निराश नभई, नकारात्मक विषयको मात्र प्रचारप्रसारमा नलागि, आ–आफ्नो ठाउँमा रहेर जे जति गर्न सकिन्छ, त्यही गरेर यो देशलाई माथि उठाउँ, युवाजति एकजुट होउँ यहीँ कामना र अनुरोध गर्दछु ।’  

Logo