‘कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु हुँदैन’ : महामन्त्री कोइराला

‘कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु हुँदैन’ : महामन्त्री कोइराला


नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताएका छन् । सोमबार पूर्वप्रधानमन्त्री एवं कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको छैठौँ स्मृति दिवसका अवसरमा कोइरालाले यस्तो बताएका हुन् ।

सुशील कोइराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटमा संविधान विषयक विचार गोष्ठीमा बोल्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जान नहुने बताएका हुन् । संयुक्त आन्दोलनमा गए कांग्रेसलाई घाटा हुने समेत उनको भनाइ थियो । महामन्त्री कोइरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके कांग्रेसको भविष्य उज्वल रहेको पनि बताए ।  

यस्तै कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता रहेको बताए । ओलीलाई जनताले संसद, संविधान र कानुनको अधिनमा बसेर शासन गर्न चुनाव जिताएर पठाएको भएपनि कानुन, संविधान, अदालत केही नमान्ने प्रवृत्ति ओलीमा रहेको उनको भनाइ छ ।

नेता रिजालले संसद विघटन अघि एकै ठाउँमा बसेका मान्छेहरु अहिले विभक्त भएको भन्दै कुनै एकको पक्षमा नेपाली कांग्रेस नलाग्ने पनि स्पष्ट पारे ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले संविधानको रक्षा गर्नु अहिलेको मुल दायित्व भएको बताए । उनले संविधान, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नु पर्ने भन्दै अहिले संघीयता र धर्मनिरपेक्षताको बारेमा प्रश्न उठाएर संविधानलाई कमजोर बनाउन नहुने पनि बताए । नेता पन्तले वैशाखमा निर्वाचन नहुने भन्दै संविधानको रक्षाको निम्ति सबै राजनीतिक दल मिलेर आन्दोलनमा जानुपर्ने धारणा राखे ।  

Logo