नेकपाको झगडा सिद्धान्तको नभएर कुर्सी र भागबन्डाको हो : कमल थापा

नेकपाको झगडा सिद्धान्तको नभएर कुर्सी र भागबन्डाको हो : कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपाभित्र देखिएको झगडा सिद्धान्तको नभई पद, कुर्सी र भागबन्डाको झगडा भएको बताएका छन् ।  

विहिबार मकवानपुरको मनहरी गाउँ पालिकाको रजैयामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले देश निर्माणको विषयमा केन्द्रित हुनु पर्ने समयमा कुर्सी र शक्तिको निमित्त झगडा गरेर मुलुकलाई बर्बादीको अँध्यारो सुरुङ्गमा फसाएकोमा आक्रोश ब्यक्त गरे । नेकपा र नेपाली काङ्ग्रेसको असफलताले भ्रष्टाचार र कुशासनको दलदलमा मुलुक भासिएको चर्चा गर्दै थापाले प्रमुख प्रतिपक्षी दल काङ्ग्रेस किंकर्तब्य बिमुख र निरीह रहेको समेत बताए।  

मुलुकमा अहिले भ्रष्टाचार, कुशासन, धर्मपरिवर्तन र बेरोजगारी समस्या डरलाग्दो महारोगको रुपमा देखिएको बताउँदै लोकतन्त्रका लागि अब कहिल्यै लड्नु पर्दैन, राजा हटाएपछि लोकतन्त्र मजबुत हुन्छ भन्नेहरु नै आज लोकतन्त्रमाथि खतरा भयो भन्दै कराउँदै हिंडेको बताए । राजसंस्था विकास र प्रजातन्त्रको बाधक नभएको भन्दै थापाले व्यवहार र चरित्रमा प्रजातान्त्रिक हुनुपर्नेमा जोड दिए ।  

धतुरो रोपेर आँप नफल्ने भन्दै थापाले ०६२/०६३ को आन्दोलनको मार्गचित्र त्रुटिपूर्ण भएको जिकिर गरे । राप्रपालाई काङ्ग्रेस कम्युनिस्टको विकल्पको रुपमा राष्ट्रवादी शक्ति बनाउनको निमित्त संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुन थापाले आग्रह गरे ।  

कार्यक्रममा बोल्दै केन्द्रीय कार्य सम्पादन समितिका सदस्य मधु अधिकारीले सत्ताको छिनाझप्टिले मुलुक र जनताले दुःख पाउनु दुर्भाग्यपूर्ण भएको विचार ब्यक्त गरे । कार्यक्रममा नेताहरु रामहरि न्यौपाने, बालकुमारी डल्लाकोटी, शुक्र प्रजा, नरहरी सुवेदी, मनोज थापा, सर्ब सिं मोक्तान लगायतले बोलेका थिए । विहिबार नै हेटौंडा ९ मा आयोजित कार्यक्रमलाई पनि थापाले सम्बोधन गरेका थिए ।

Logo