‘हजारौं शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान धरापमा जाने खतरा’ : प्रचण्ड

‘हजारौं शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान धरापमा जाने खतरा’ : प्रचण्ड


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले हजारौं शहीदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संसय पैदा भएको बताए ।  

जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा शनिबार बारबर्दिया नगरपालिकाले आयोजना गरेको “जीवनगाथा” पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले ठूलो बलिदानीपछि प्राप्त उपलब्धि नै गुम्ने खतरा श्रृजना भएको बताएका हुन् ।

जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइते योद्धाहरुको जीवनगाथा सार्वजनिक गर्नका लागि जनयुद्ध शुरु गरेकै दिन रोजेकोमा उनले बारबर्दिया नगरपालिकालाई धन्यवाद पनि दिए । युद्धकालिन समय योगदान पुर्याएका व्यक्तित्वका बारेमा विभिन्न पुस्तकहरु प्रकाशित भएपनि सरकारका तर्फबाट बैधानिक ढंगले प्रकाशित भएको पहिलो ऐतिहासिक दस्तावेज भएको भन्दै जीवनगाथा प्रकाशित गर्नेमा देशभरीको पहिलो नगरपालिका भएकोमा पनि उनले धन्यवाद दिए। अध्यक्ष दाहालले बारबर्दिया नगरपालिकाले गरेको यो कामले युद्धबाट पीडित देशभरका सबै परिवारले न्याय पाउने प्रेरणा हुने विश्वास आफूले लिएको बताए । बारबर्दियाले शुरु गरेको काम देशैभरि हुनेछ भन्ने विश्वास आफूले लिएको पनि उनले उल्लेख गरे।

युद्धकालिन समयमा भएको बलिदानीसँगै शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापनको साथै शान्ति सम्झौतालाई सफल पार्न आफूहरुले खेलेको भूमिका लगायत सबै काम युगान्तकारी भएको टिप्पणी उनले गरे। उनले पार्टीको नेताको र युद्धको परिकल्पनाकारको हैसियतले आफूले उत्पीडीत समुदायहरुको विचार र उत्पीडनलाई उजागर गर्न भूमिका मात्रै खेलेको तर तत्कालिन विद्रोह उत्पीडीत समुदायको विद्रोह नै भएको बताए। उनले तत्कालिन समयमा थारु समुदायले खेलेको भूमिकाको पनि प्रसंशा गरे ।

सरकारको तर्फबाट आधिकारिक दस्तावेज प्रकाशित गर्नेमा नगरपालिका पहिलो भएको अध्यक्ष दाहालले बताए। “जीवनगाथा” पुस्तकमा जनयुद्धको तयारीको क्रममा बारबर्दिया जिल्लामा शहीद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाईते योद्धाहरुको जीवनगाथा संग्रहित गरिएको छ । प्रकाशित जीवनगाथामा ६ सय ८० योद्धाहरुको जीवनी समेटिएको छ । ती मध्ये ३ सय २८ शहीद तथा मारिएका व्यक्तिहरु,२ सय ५० जना बेपत्ता पारिएका व्यक्तिहरु र १ सय २ जना घाइते तथा अपाङ्गता भएका व्यक्तिहरुको जीवनगाथा छ ।  

बर्दिया जिल्लाका ६ वटा नगरपालिकाहरु बाँसगढी, बारबर्दिया, गुलरिया, मधुवन, ठाकुरबाबा र राजापुर समेटिएका छन् । त्यसैगरी बढैयाताल गाउँपालिका र गेरुवा गाउँपालिकाका ७५ वटा वडाहरुमा वडागतरुपमा जीवनगाथा श्रेणीबद्ध गरिएको छ । यसका साथै घटनाहरु वर्णानुक्रम अनुसार श्रृंखला मिलाएर राखिएको छ ।

Skip This
Logo