कोरोना महामारी नियन्त्रण नभएपछि जिम्बाबेमा लकडाउनको म्याद थप

कोरोना महामारी नियन्त्रण नभएपछि जिम्बाबेमा लकडाउनको म्याद थप


कोरोना भाइरसबाट प्रभावित अफ्रिकी मुलुक जिम्बाबेमा लकडाउनको समयावधि फेरि थप गरिएको छ ।  

कोरोना भाइरसको महामारी नियन्त्रण नभएकाले लकडाउन फेरि थप्नु परेको राष्ट्रपति इमर्सन मनङ्गवाले बताए। उनका अनुसार यसअघि छ हप्ता लागू गरिएको देशव्यापी लकडाउन अहिले दुई हप्ता थप्ने तयारी भएको हो ।  

राष्ट्रपति मनङ्गवाले देशमा कोरोना भाइरसबाट सङ्क्रमित हुने र मृत्यु हुने क्रम नरोकिएकाले लकडाउन आवश्यक परेको बताए ।  

व्यापार व्यवसाय गर्ने समय भने बढाइएको छ । दैनिक सातदेखि नौ घण्टासम्म व्यापार व्यवसाय गर्न पाइने व्यवस्था गरिएको छ । रातिको समयमा भने कर्फ्यु नै लगाइएको छ । लकडाउनको समयमा विद्यालयहरु भने पूर्णरुपमा बन्द हुने पनि राष्ट्रपति मनङ्गवाले जानकारी दिए।

त्यसैगरी अन्तर शहर र अन्तर प्रान्तस्तरीय भ्रमण पनि बन्द गराइएको छ भने भोजभतेर र भिडभाड पनि गर्न नपाइनेको व्यवस्था गरिएको छ । सबै गतिविधि गर्दा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्ड तथा निर्देशिका अनुसार गर्न पनि सरकारले आह्वान गरेको छ ।  

जिम्बाबेमा गत आइतबार एक दिनमा कोरोनाका कारण दुई जनाको मृत्यु भएको थियो भने ६८ जना सङ्क्रमित भएका थिए । अधिकारीहरुका अनुसार जिम्बाबेमा अहिलेसम्म झण्डै एक हजार ४०० जनाको मृत्यु भएको छ भने ३५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।रासस

Logo