‘संविधान मिच्नेहरुलाई ट्रयाकमा ल्याउनु पर्ने दायित्व यतिबेला कांग्रेसको काँधमा छ’ : नेता सिंह

‘संविधान मिच्नेहरुलाई ट्रयाकमा ल्याउनु पर्ने दायित्व यतिबेला कांग्रेसको काँधमा छ’ : नेता सिंह


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान मिच्नेहरुलाई ट्रयाकमा ल्याउनु पर्ने दायित्व यतिबेला कांग्रेसको काँधमा आएको बताएका छन् । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

प्रजातन्त्र ल्याउन नेतृत्व गरेका  कांग्रेसका नेताहरुको योगदान अतुलनिय रहेको पनि उनले बताए । 

'हाम्रा महान् चार शहीदहरू र प्रजातन्त्रका लागि बलिदान दिने सबै ज्ञात अज्ञात शहीदहरू र जेलनेल भोग्नु भएका प्रजातन्त्र प्रेमीहरूलाई आजको विशेष दिनमा स्मरण गर्दै सम्मान व्यक्त गर्न चाहन्छु ।'- नेता सिंहले भनेका छन् ।

आज फागुन ७ गते, राष्ट्रिय प्रजातन्त्र दिवस । २००७ सालको नेपाली कांग्रेसको राणा विरोधी क्रान्तिबाट रैतीका रूपमा रहेका जनता नागरिक बनेको दिन । तत्कालीन व्यवस्थाले खोसेको स्वतन्त्रता प्राप्त भएको र हुकुमी शासन अन्त्य भएर विधिको शासन स्थापित भएको ऐतिहासिक दिन । प्रजातन्त्र ल्याउन नेतृत्व गरेका कांग्रेसका श्रद्धेय नेता प्रजातन्त्रका सेनानी, अथक योद्धा विपि कोइराला, गणेशमान सिंह, किसुनजी, सुवर्ण शमशेर लगायतका सयौं नेता, कार्यकर्ताहरूको योगदान अतुलनीय छ । हाम्रा महान् चार शहीदहरू र प्रजातन्त्रका लागि बलिदान दिने सबै ज्ञात अज्ञात शहीदहरू र जेलनेल भोग्नुभएका प्रजातन्त्र प्रेमीहरूलाई आजको विशेष दिनमा स्मरण गर्दै सम्मान व्यक्त गर्न चाहन्छु । 

हामीले ठूलो संघर्ष र बलिदानबाट प्रजातन्त्र प्राप्त त गर्यौं, तर पटक–पटक संकटमा पर्दै आएको छ । विधिको शासन र नागरिक स्वतन्त्रतामाथि अझै बेलाबेलामा प्रहार हुँदै आएको छ । अहिलेको सरकार विधिको हैन हुकुमी शासनको बाटोमा अघि बढ्दा प्रजातन्त्रमाथि पुनः खतरा उत्पन्न भएको छ । अभिव्यक्ति स्वतन्त्रता, नागरिक स्वतन्त्रता कुण्ठित गर्ने खालका विधेयकहरू ल्याउनु र संविधानमा हुँदै नभएको व्यवस्था छ भनेर प्रतिनिधिसभा विघटन गर्नुले सरकारको अप्रजातान्त्रिक आकांक्षा छर्लंग बनाएको छ ।

संविधान मिच्नेहरुलाई ट्रयाकमा ल्याउनुपर्ने दायित्व यतिबेला हाम्रो काँधमा छ । त्यस्तै पार्टीका गतिविधि पनि प्रजातान्त्रिक तवरबाट अगाडि बढाउनु पर्ने दायित्व हामीमा छ । समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीलाई विधिसम्मत ढंगबाट अघि बढाएर आन्तरिक प्रजातन्त्र मजबुत गर्नुपर्ने चुनौति पनि छ ।  प्रजातन्त्रका पक्षमा अनवरत उभिने तागत हामी सबैमा रहिरहोस् । विधिको शासन बलियो बन्दै जाओस् । प्रजातन्त्र दिवसको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । 
प्रकाशमान सिंह 
जय नेपाल ।

Logo