विराटनगरबाट प्रधानमन्त्रीले अदालतलाई धम्की दिएको भन्दै काँग्रेसको आपत्ति

विराटनगरबाट प्रधानमन्त्रीले अदालतलाई धम्की दिएको भन्दै काँग्रेसको आपत्ति


प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आयोजित सभामा अदालतलाई दबाब दिने अभिव्यक्ति दिएको भन्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । 
प्रवक्ता शर्माले शनिबार सामाजिक सञ्जालमार्फत् सो बताएका हुन् । ट्विटमार्फत् उनले अदालतको विषयमा चेतावनी प्रसारण गर्ने जंगेशैली लोकतान्त्रिक हुन नसक्ने बताएका छन् । 
उनले लेखेका छन्, ‘अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने प्रधानमन्त्रीको विराटनगर मन्तव्य पदीय गरिमा विपरीत छ। न्यायालयको फैसला स्वीकार्छौं कहिल्यै नभन्ने र चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन।’
विराटनगरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पनासमते आफूले नगरेको बताएका थिए । 
‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न म भन्न चाहन्छु,’ संबोधनका क्रममा प्रधानमन्त्री केपी ओलीले भनेका थिए, ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संविधानको मर्म र भावना हेरेको होला । मुलुक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’

Logo